जाँचबुझमा बोलाउँदा नआए पक्रेर ल्याइन्छ : अध्यक्ष आचार्य
उनले अदालतलाई भएको अधिकार आयोगलाई पनि रहेको बताउँदै बोलाउँदा नआए पक्राउ गरेर उपस्थित गराइने बताए। छानबिनको क्रममा आवश्यकता परे प्रहरी र सरकारी वकिलको सहयोग लिइने उनको भनाइ छ।
काठमाडौं, असोज १८ : सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुन तस्करी प्रकरणमा मुछिएकालाई बयानमा बोलाउँदा नआए पक्राउ गरेर ल्याइने बताएका छन्।
बिहीबार आयोगको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा आचार्यले उक्त भनाई राखेका हुन्। उनले अदालतलाई भएको अधिकार आयोगलाई पनि रहेको बताउँदै बोलाउँदा नआए पक्राउ गरेर उपस्थित गराइने बताए। छानबिनको क्रममा आवश्यकता परे प्रहरी र सरकारी वकिलको सहयोग लिइने उनको भनाइ छ।
‘हामी आन्तरिक कार्यविधि निर्माण गर्छौँ। हामीलाई सुन तस्करीको छानबिनको क्रममा बयानमा बोलाउँदा मान्छे नआएको अवस्थामा पक्राउ गर्ने अधिकार समेत छ’, आचार्यले पत्रकारसँग भने, ‘अदालतलाई जे अधिकार हुन्छ, हामीलाई पनि त्यो अधिकार छ।’
यस्तै आचार्यले सुन तस्करी प्रकरणको जाँचबुझ गर्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनलाई स्रोत सामग्रीको रूपमा लिएर काम गर्ने पनि बताए। न्यायिक र अर्धन्यायिक नियकालले गरेको आदेश र फैसलाको पनि अध्ययन गरिने भनाई आचार्यको छ।











