बझाङ भूकम्पका घाइतेको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने
सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो।
कैलाली, असोज १८ : बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घाइते भएकाहरुको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले ब्यहोर्ने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो।
भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन्।
गत मङ्गलवार ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प जाँदा बझाङसहित बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी तीन सयभन्दा धेरै घरमा क्षति पुगेको छ भने झण्डै ३२ वटा सरकारी कार्यालय तथा विद्यालय भवनमा पनि क्षति पुगेको छ।
सुदूरपश्चिम प्रहरी कार्यालय, सञ्चार शाखाका अनुसार भूकम्पका कारण बझाङ, अछाम र बाजुरामा गरी २७ जना घाइते भएका छन्। भूकम्पले सबैभन्दा धेरै क्षति बझाङमा पुर्याएको छ । बझाङमा एक महिलाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।











