सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिक भेट
अष्ट्रेलियामा संसदीय मैत्री समूह पुनःस्थापना भएकोमा खुसी व्यक्त गर्दै सभामुख घिमिरेले नेपालमा भर्खरै गठन भएको नेपाल–अष्ट्रेलिया मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई थप गतिशील बनाउन विश्वास व्यक्त गरे।
काठमाडौं, असोज १७ : सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरवारमा शिष्टाचार भेट गरेका छन्।
सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको छ।
नेपाल र अष्ट्रेलिया लोकतान्त्रिक मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए। उनले उच्चस्तरीय भ्रमणले दुईदेशबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
अष्ट्रेलियामा संसदीय मैत्री समूह पुनःस्थापना भएकोमा खुसी व्यक्त गर्दै सभामुख घिमिरेले नेपालमा भर्खरै गठन भएको नेपाल–अष्ट्रेलिया मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई थप गतिशील बनाउन विश्वास व्यक्त गरे।
उनले युवा राजनीतिज्ञहरूको भ्रमण आदानप्रदानले दुई देशबीचको राजनीतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे।
अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताए।
उनले नेपालमा पनि अष्ट्रेलिया हेर्ने गरी संसदीय मैत्री समूह गठन भएकोमा स्वागत गर्दै कानुन निर्माण, बजेट लगायतका नीतिगत विषयमा छलफल हुने विश्वास व्यक्त गरे।











