Kathmandu Press

चाडबाडमा सार्वजनिक यातायात सहज बनाइन्छ : मन्त्री ज्वाला

‘बजेट कम भए पनि चाडबाडलाई लक्षित गरी राजमार्गको मर्मत तथा कच्ची सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ,’ मन्त्री ज्वालाले भने।
चाडबाडमा सार्वजनिक यातायात सहज बनाइन्छ : मन्त्री ज्वाला
फाइल तस्बिर ।

काठमाडौं, असोज १७ : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैं, तिहार र छठ पर्वको समयमा बढी आवातजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री ज्वालाले सीमित स्रोतका बाबजुद पनि चाडबाडमा सार्वजनिक यातायात यात्रुमैत्री बनाउन सरकारले विशेष ध्यान दिने बताए।

‘बजेट कम भए पनि चाडबाडलाई लक्षित गरी राजमार्गको मर्मत तथा कच्ची सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ,’ मन्त्री ज्वालाले भने।

निरन्तरको वर्षाका कारण सडक मर्मत प्रभावित भइरहेको जनाउँदै मन्त्री ज्वालाले दसैंलगायतका पर्वमा यात्रा गर्नेका लागि अग्रिम टिकट बुकिङदेखि  विनासास्ती गन्तव्य पुग्ने र फर्कनका लागि सहज बनाउनका लागि मन्त्रालयले काम गरिरहेको जनाए।

यस वर्षको दसैंको अवसरमा काठमाडौं उपत्यकाबाट कम्तीमा १५ लाख यात्रु विभिन्न जिल्लामा जाने अनुमान गरिएको छ। सरकारले दसैंलगायतका चाडपर्वका लागि दैनिक उपभोग्य वस्तुलगायतमा हुनसक्ने कालोबजारी, मिसावट, कृत्रिम अभाव रोक्नका लागि प्रभावकारी संयन्त्र परिचालन गरिरहेको उनको भनाइ छ।

बैठकमा समिति सदस्य ठाकुर गैरे, महेश बस्नेत, प्रतिमा गौतम, दिनेशकुमार यादव, माधव सापकोटालगायतले चाडबाडलाई लक्षित गरी यात्रुको यात्रा सहज बराउन प्रत्येक स्थानीय तहलाई सडक मर्मत र स्तरोन्नतिका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरे। चाडपर्वलाई सुखद् बनाउन यात्रुको सुरक्षामा ध्यान दिन उनीहरुको आग्रह थियो।

दसैंमा घर जाने सन्दर्भमा उपत्यकाबाट बाहिरिने नाकामा हुने सवारीको चाप व्यवस्थापन तथा यात्राका क्रममा होटलमा यात्रुको खानामा हुनसक्ने मूल्यवृद्धि नियन्त्रणका लागि पनि ध्यान दिन सांसदहरुले सुझाए।

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्