झूटा बिल भरपाईंको अभियोगमा १३ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असोज १७ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
बुधबार विशेष अदालतमा १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो।
गंगादेव गाउँपालिकाको वडा नम्बर– २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको भन्ने उजुरीका आधारमा अख्तियारले छानविन गर्दै आएको थियो। आर्थिक वर्ष २०७६÷०७७ मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई गंगादेव गाउँपालिकाबाट रकम विनियोजन एवं उपभोक्ता समितिबीच सम्झौता समेत भएको थियो। योजनाको वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको भनेर उनीहरूले गलत प्रतिवेदन दिएको अनुसन्धानबाट खुलेको छ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकलदेव यादव, योजना अधिकृत (सहायक पाँचौ) कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नविन डाँगी, सब इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतलाई भ्रष्टाचारमा प्रतिवादी बनाइएको छ।
त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी, कोषाध्यक्ष चन्द्रकुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भुपाल दमाइ, वडासदस्य टिका विक, तत्कालीन वडासदस्य गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीलाई पनि प्रतिवादी कायम गरिएको छ। झुट्टा बिल भरपाइ गरी चार लाख ६६ हजार चार सय ८८ रुपैयाँ बढी भुक्तानी लिएर हानिनोक्सानी पु¥याएको ठहर अख्तियारले गरेको छ।
उक्त रकम बिगो कायम गरी अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र जरिवानाको मागदाबी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड १५ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगमा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बुधबार विशेष अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार इन्जिनियर रानाभाटले २०४६ असार ३० गतेदेखि २०७९ कात्तिक ६ गतेसम्मको अवधिमा स्रोत नखुलेको तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ आर्जन गरेको पाइएको छ। रानाभाटले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।
गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति उनले श्रीमती राधा रानाभाटसमेतको नाममा राखेको भेटिएको छ। अख्तियारले रानाभाटकी श्रीमतीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।











