‘हामी पनि छौं, न्यायलयलाई गठबन्धनको विभाग बनाउन दिइन्नँ’
‘गठबन्धनको दुई सरकारले न्यायालयको गरिमा, निष्पक्षता र समग्र उचाईमाथि पटक–पटक प्रहार गरेको छ। न्यायलयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको हो? सम्भव छैन, हामी पनि छौँ यो देशमा। हामी न्यायालयलाई तपाईँहरूको विभाग बनाउन दिँदैनौँ।’
काठमाडौं, असोज १६ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले न्यायलयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका छन्।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले सरकाले न्यायालयको गरिमा, निष्पक्षता, स्वच्छता, स्वतन्त्रता र समग्र उचाईमाथि पटक–पटक प्रहार गरेर न्यायलयलाई गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाए।
‘गठबन्धनले जन्माएको दुई वटा सरकारले न्यायालयको गरिमा, निष्पक्षता,स्वच्छता स्वतन्त्रता र समग्र उचाईमाथि पटक–पटक प्रहार गरेको छ। न्यायलयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको हो?’ उनले भने, ‘सम्भव छैन, हामी पनि छौँ यो देशमा। हामी न्यायालयलाई स्वतन्त्र सम्मानित, मर्यादित न्यायालयका रूपमा राख्न चाहन्छौँ। तपाईँहरूको विभाग बनाउन दिँदैनौँ।’
उनले न्यायाधीश नियुक्ति र सरुवा आइसवर्ग भएको भन्दै संवैधानिक दुर्घटनाको कारक बन्नसक्ने भएकाले सावधान रहन समेत हुन आग्रह गरे।
एमाले अध्यक्ष ओलीले सरकारले कुनै नियम र कानुन पालना नगरेको पनि बताए। उनले भने, ‘यो गठबन्धन सरकार संविधानमाथि शृंखलाबद्ध हमला गरी संवैधानतिक संकट निम्त्याउँदैछ।’
सरकारले संविधानप्रति अनास्था फैलाउने कार्यमा क्रियाशील रहेको बताउँदै विगतमा संविधानमा फरक धारणा राख्नेहरूलाई पनि स्वीकार गर्ने वातावरण एमालेले बनाएको तर अहिलेको सरकारले भने ठीकविपरीत कार्य गरिरहेको बताए।
अहिले संविधान स्वीकार्नेहरूलाई पनि बाहिर धकेल्न खोजेको उनको भनाइ थियो। संविधान स्वीकार्न सबैलाई स्थान र अवसर दिनुपर्नेमा सरकारले संविधान बाहिर धकेल्ने क्रियाकलापलाई प्रोत्साहन दिइरहेको उनले बताए।








![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)


