Kathmandu Press

मृतक चेतनकी श्रीमती भारतीले भनिन्– घटना बिर्सन सकेकै छैन, आममाफीले झनै पीडा दियो

‘जो मान्छेले मेरो जीवन तहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो। तर, अहिले राष्ट्रपतिले म पहिला पीडामा थिएँ, फेरि दोहोर्याइ दिनुभयो। पहिलाको दृश्य मेरो आँखामा झलझली भइरहेको छ,’ उनले भनिन्।
मृतक चेतनकी श्रीमती भारतीले भनिन्– घटना बिर्सन सकेकै छैन, आममाफीले झनै पीडा दियो

काठमाडौं, असोज १६ : चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी प्रकण चर्चामा छ।

मृतक चेतनकी श्रीमती भारती मानन्धरले आममाफीविरुद्ध आन्दोलनको घोषणा गरेकी छिन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीविरुद्ध रिले अनशन बस्न लागेको बताइन्।

उनले ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने आवस्था आएको भन्दै चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने बताइन्।  आठ वर्ष भइसक्दा पनि अझैं उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताइन्।

‘घटना भएको आज आठ वर्ष भयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन । डिप्रेसनको औषधी अझै पनि चलिरहेको छ,’ उनले भनिन्, ‘मनबाट उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी विर्सन सक्छु ?’

चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुस भएको पनि राष्ट्रपतिले आममाफी दिएर पुरानो घटनाको पीडा दोहार्याइदिएको उनले बताइन्।

‘जो मान्छेले मेरो जीवन तहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो। तर, अहिले राष्ट्रपतिले म पहिला पीडामा थिएँ, फेरि दोहोर्याइ दिनुभयो। पहिलाको दृश्य मेरो आँखामा झलझली भइरहेको छ,’ उनले भनिन्।

आफूले लामो कानुनी लडाईँबाट रिगललाई कारगार पुर्याएको बताउँदै उनले पीडित परिवारको सहमतिबिना राष्ट्रपतिलाई आममाफी दिने अधिकार हुन नहुने बताइन्। ‘आममाफी भनेको के हो? तपाईँलाई त्यो अधिकार कसले दियो?,’ उनले भनिन्, ‘राष्ट्रपतिलाई म सोध्न चाहन्छु– आममाफी भनेको के हो? जसरीे त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पुर्याएको हो, त्यसैगरी आममाफी दिने वा नदिने हामीलाई अधिकार हुनुपर्ने हो। आममाफीको जवाफ मलाई चाहियो।’

हत्यारालाई आममाफी हुने हो भने राज्यले आफूलाई पनि हतियार दिनुपर्ने उनले माग गरिन्। आममाफीका विषयमा यो घटना तपाईँको छोरी चेलीलाई परेको भए न्याय माग्नका लागि यसरी नै मिडियामा आएर रुने गराउनुहुन्थ्यो भनेर उनले राष्ट्रपतिमाथि प्रश्न गरिन्।

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्