संरचना निर्माणमै चुनौती छ : मन्त्री गुरुङ
विश्व बसोबास दिवस २०८० को अवसरमा आयोजित कार्यक्रममा उनले, शहर व्यवस्थित गर्न र संरचना निर्माणका लागि प्राथमिकता छनोटमा नै मुख्य चुनौती सामना गर्नु परिरहेको बताइन्।
काठमाडौं, असाेज १५ : शहरी विकास मन्त्री सिता गुरुङले, शहरी संरचना निर्माणमै ठुलो चुनौती रहेको बताएकी छन्।
विश्व बसोबास दिवस २०८० को अवसरमा आयोजित कार्यक्रममा उनले, शहर व्यवस्थित गर्न र संरचना निर्माणका लागि प्राथमिकता छनोटमा नै मुख्य चुनौती सामना गर्नु परिरहेको बताइन्। ‘हामीले बनेको शहरलाई कसरी व्यवस्थित गर्ने र अब बन्ने शहरहरुलाई सुरुमै कुन संरचनामा बनाउने भन्ने कुरा मुख्य चुनौतीको रुपमा छ।
अहिले हाम्रो मुख्य समस्या भनेको सबै पालिकामा शहर निमार्णको र बस्ती विकास के हो भन्ने कुरालाई लिएर जान सक्यो भने मात्रै हामीले समृद्ध शहरसँगै उत्पादनसँग जोडिने सहरहरु भन्ने कुरा त्यहाँ पुग्छ होला जस्तो लागेको छ। आगामी दिनमा यो विषयमा केन्द्रीत हुने हो भने अलि बढि फाइदा लिन सक्छौ।’ उनले भनिन्।
उनले सहरी विकास मन्त्रालयले नीति बनाएरै व्यवस्थित सहर निमार्णको कोशिस गरिहेको बताइन्।
‘सहरी विकास मन्त्रालयले मुख्य गरी सहरी विकास नीति महत्वपूर्ण हुन्छ र त्यो नीति बनायौं भने त्यही अनुसारको ऐन बनाएर अगाडि बढ्न सजिलो हुन्छ भनेर यसलाई छिटोभन्दा छिटो अगाडि बढाउने कोशिस गरिरहेका छौं,’ उनले भनिन् ‘नगर केन्द्र, वडा केन्द्रमा रहेको बस्तीहरुलाई व्यवस्थित गर्नको लागि बस्ती विकास नीतिलाई पनि सँगै लिएर जान सक्यौ भने राम्रो हुन्छ। नीतिगत रुपमा यी कुराहरुलाई अगाडि बढाउन मन्त्रालय लागि परेको छ।
पर्याप्त बजेट छैन् भनेर म पन्छिने पक्षमा आफू नरहेको बताएकी उनले ‘केही गरौंभन्दा पनि निराशाको वातावरण बन्दै गएको छ यसबाट हामी माथि उठ्नु पर्छ’ भनिन्। आफ्नो कार्यकालका लागि मात्रै योजना बनाउने प्रवृति घातक भएको उनको भनाई छ।











