सेवा बन्द गरेर केएमसीका डाक्टर सडकमा [तस्बिरहरू]
सहकर्मीमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकले काम बन्द गरेर आइतबार साँझ अस्पताल अगाडि सडकमा धर्ना दिएका छन्।![सेवा बन्द गरेर केएमसीका डाक्टर सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover_doctor1696167029.jpg)
काठमाडौं, असोज १४ : सहकर्मी कुटिएको विरोधमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। सहकर्मीमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकले काम बन्द गरेर आइतबार साँझ अस्पताल अगाडि सडकमा धर्ना दिएका छन्।
मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको थियो।
सहकर्मीमाथि हातपात भएपछि उनीहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन्। उनीहरुले ‘वार कि पार, अति भयो अत्याचार, डाक्टर कुटाइ खाँदैछ, पुलिस प्रशासन घुर्देछ’लगायतनरा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।
उनीहरुले हिजो मात्रै सरकारसँग भएको सहमतिको मसी सुक्न नपाउँदै फेरि हातपात भएको भन्दै आक्रोश पोखेका छन्। उनीहरुले डाक्टरको गल्ती छ भने सजाय दिनुपर्ने बताउँदै उनीहरुले हातहात गर्न नहुने बताए।
डाक्टर खड्कामाथि हातपात गरेको आरोपमा प्रहरीले रुपक गौतम तथा सरोज गौतमलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।