विद्यालय शिक्षा विधेयक सदनमा पेस, शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजिएकाे शिक्षामन्त्रीकाे भनाइ

काठमाडौं, असोज १४ : विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भएको छ।
प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आइतबार विधेयक पेश गरेका हुन्। मन्त्रिपरिषदबाट पारित भई उक्त विधेयक यसअघि नै संघीय संसदमा दर्ता भएको थियो। विधेयकका कतिपय व्यवस्थालाई लिएर नेपाल शिक्षक महासंघ र राहत शिक्षक लगायतले विरोध गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा उत्रेका थिए।
विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक संसदमा पेश भएपछि संसदमा धारणा राख्दै शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताए। मन्त्री राईले शिक्षकको पेशागत हकहितका लागि संगठित हुन शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको बताउँदै कुनै दलमा आवद्ध हुन नपाउने जानकारी पनि दिए।
शिक्षा मन्त्री राईले संसदमा भने, ‘शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ। मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ। आस्थाका कारण पठन पाठनलाई प्रभावित पार्नुहुँदैन, शिक्षाको गुणस्तरलाई प्रभाव पार्नुहुदैन। उहाँहरुले कसैको सदस्यता लिएर, कसैका विरुद्ध, कसैका लागि भोट माग्ने काम गर्न हुँदैन भन्ने राखिएको छ।’ यस्तै, शिक्षामा योग्य व्यक्तिलाई ल्याउन राम्रो सेवा सुविधा दिनुपर्यो भन्ने विषयमा पनि संसदीय प्रक्रियामा विधेयकमा समावेश गर्न सकिने भनाई मन्त्री राईको छ। प्रतिनिधि सभामा पेश भएको विद्यालय शिक्षा विधेयकमा मातृभाषामा शिक्षा प्राप्त गर्ने, परम्परागत शिक्षालाई व्यवस्थित गर्ने लगायतका विषय समेत रहेको मन्त्री राईले जानकारी दिए।











