जिल्ला शिक्षा कार्यालय ब्युँताउन खोज्नु गलत हाे : प्रेम सुवाल

काठमाडौं, असोज १४ : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय ब्युँताउन खोज्नु गलत भएको बताएका छन्।
विद्यालय शिक्षा विधेयकको विरोध गर्दै आजको प्रतिनिधि सभाको बैठकमा उनले भनेका छन्, ‘जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो। यस सम्बन्धमा सरोकारवालाहरुले पनि विरोध गरिरहेका छन्।’
आधारभूत र माध्यमिक शिक्षलाई स्थानीय सरकारमातहत नै राखिनुपर्नेमा सांसद सुवालले जाेड दिए। उनले शिक्षककाे अभिव्यक्ति स्वतन्त्रताकाे सम्मान गर्नुपर्ने पनि बताए। उनले शिक्षकले देश र जनताको हितमा राजनीति गर्न पाउनुपर्ने भन्दै विधेयकले शिक्षकहरूको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको बताएका हुन्।
उनले भने,‘शिक्षकले देश र जनताको हितमा राजनीति गर्न पाउनुपर्छ। भूमि मिचे पनि शिक्षक बोल्न नपाउने। भ्रष्टाचारको बारेमा पनि बोल्न नपाउने अभिव्यक्ति स्वतन्त्रता हनन गरिएको छ यो विधेयकमा त्यस्तो हुँदैन। त्यसकारण यसलाई संशोधन गरेर मात्र पेस गर्नुपर्छ।’
उनले विद्यालय शिक्षा विधेयकमा निःशुल्क र अनिवार्य शिक्षा दिने, तालिम प्राप्त विषयगत शिक्षक देशभर प्राप्त गराउने र उत्पादन श्रमसँग जोडिएको शिक्षा प्रदान गर्ने विषयलाई नसमेटिएको भन्दै संशोधन गर्नुपर्ने बताए। देशभरि नै एकै प्रकारको अध्ययन र अध्यापन गरी गुणस्तरीय शिक्षा कायम गर्न कक्षा १० देखि नै राष्ट्रिय स्तरमा परीक्षा लिनुपर्ने उनको भनाइ छ।
उनको विरोधको सूचना अस्वीकृत भएपछि शिक्षा मन्त्रीले प्रस्तुत गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ।











