नेपाल आयल निगम र कैद मिनाहाबारे रवि लामिछानेले सदनमा उठाए प्रश्न

काठमाडौं, असार १४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्मचारीलाई सधैं बोनस बाँड्ने संस्था कसरी घाटामा जान्छ नेपाल आयल निगममाथि प्रश्न उठाएका छन्।
‘आयल निगम आयात पनि आफैं गर्छ। व्यापार पनि आफैं गर्छ। नियामक निकाय पनि उही हो। सबै कुरा आफैं गर्छ। कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ। तर, सधैं घाटामा छु भन्छ। घाटा के हो? निर्क्योल गरियोस्,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ?’
सभापति लामिछानेले संविधान दिवसका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकोमा आपत्ति पनि जनाए। संविधान जारी भएको खुशियाली मनाउनुपर्ने दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
‘नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा, संविधान जसलाई लिएर यो देशले आशा, भरोसा गरेको छ,’ उनले भने, ‘त्यतिधेरै लगानी गरेर हामीले संविधान बनाएको दिनको मौका छोपेर जुन काम सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट हुन गयो राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको घोर विरोध गर्न चाहन्छ।’
सभापति लामिछानेले जनताले खुशी मनाउने दिनमा जघन्य अपराध गर्ने व्यक्तिलाई उन्मुक्ति दिने प्रणालीको अन्त्य गर्न पनि माग गरे।











