‘बसन्त’ का दुई कृति एकसाथ सार्वजनिक

काठमाडौं, असाेज १४ : सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’ का दुई कृति सार्वजनिक भएका छन्। ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अङ्ग्रेजी भाषा र साहित्यको प्राध्यापन गरेका ‘बसन्त’ को ‘हे देव तिमी’ मा नौवटा लामा कविता समावेश छन्। पूर्वीय जीवन पद्धतिका उनका कवितामा ज्ञान र विज्ञानमध्ये ज्ञानको सत्ता नै सर्वोपरी हुने सत्य स्थापना गरिएको छ।
त्यसभन्दा भिन्न अङ्ग्रेजीको ‘आउट अफ बक्स’ चाहिँ २२८ वटा छोटा कविताहरुको सङ्ग्रह हो। अनुभूति, अध्यात्म, जीवन दर्शन, प्रकृतिलगायतका विविध विषय समेटिएका छोटा कविता कलात्मक पनि छन्।
यसअघि ‘बसन्त’ का तीनवटा कविता सङ्ग्रह प्रकाशन भइसकेका छन्। तीमध्ये अङ्ग्रेजीको ‘मन’ र ‘मन र प्राण’ संयुक्त राज्य अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीको दक्षिण एसिया अध्ययनमा पाठ्य सामग्रीका रुपमा प्रयोग गरिएको छ।
‘आउट अफ बक्स’ पनि सन्दर्भ सामग्रीका रुपमा राखिएको त्यहाँका प्राध्यापक डा. मारोहाङ याक्थुङले भूमिकामा लेखेका छन्। दुबै पुस्तक सेर्गेम प्रकाशन गृह दमकले प्रकाशन गरेको हो।