Kathmandu Press

देशमा भएका सबै सकारात्मक काम माओवादीको अग्रसरतामा : गृहमन्त्री श्रेष्ठ

देशमा भएका सबै सकारात्मक काम माओवादीको अग्रसरतामा : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, असाेज १३ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनआन्दोलन सञ्चालन गर्नेदेखि संविधान जारी गर्नेसम्म मुख्य भूमिका खेल्ने पार्टी माओवादी भएको दाबी गरेका छन्। जनतासँग माओेवादी विशेष रुपान्तरण अभियानअन्तरगत आयोजित कार्यक्रममा उनले देशमा भएका सबै सकारात्मक काम माओवादीको सरकार हुँदा भएको भन्दै यो सत्य होइन भन्न कसैले नसक्ने बताए। 

उनले भने, ‘समाजवादी नेपाल निर्माण गर्ने हाम्रो लक्ष्य हो, हामी त्यसमा पुग्न चाहन्छौ। यो कामको नेतृत्व हाम्रो पार्टीबाट मात्रै सम्भव छ, देशको आजको मुख्य कामहरु पूरा गर्ने कार्यभारको नेतृत्व हाम्रो पार्टीले गर्यो भने मात्रै नेपालमा यो काम पूरा हुन्छ नत्र सम्भव छैन। यो हामी दाबीका साथ भन्छौ। परिवर्तन र संविधान ल्याउन एजेण्डा प्रस्तुत गर्नेेदेखि लिएर, स्थापित गर्ने जनआन्दोलन सञ्चालन गर्नेदेखि संविधान जारी गर्नेसम्म मुख्यभूमिका खेल्ने पार्टी माओवादी नै हो। कसैले पनि यो सत्य होइन भन्न सक्दैन। म चुनौती दिन चाहन्छु नेपालमा मात्रै होइन, संसारमै कसैले सक्दैन। देशमा जे जे सकारात्मक काम भएको छ, हाम्रो पार्टीको सरकार हुँदा भएको छ।’

उनले अहिलेको केन्द्रीय कार्यभार भनेको आर्थिक समृद्धिको कार्यभार भएको भन्दै राजनीतिक परिवर्तनपछि विकासको काम भएको छ तर जनताको आवश्यकताअनुसार हुन नसकेको बताए। उनले नेपालमा सामाजिक, आर्थिक रुपान्तरण, विकास र समृद्धि स्थापना गर्न आवश्यक भएको भन्दै आमजनताले लाभ पाउन सक्ने गरि नयाँ प्रकारको विकास नेपालमा स्थापित गर्नुपर्ने बताए। 

उनले भने, ‘जुन संक्रमणकालीन न्याय सम्बन्धी काम हो, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको काम पूरा गरेर हामीले द्वन्द्व पीडितलाई न्याय दिने र समग्रमा यो देशमा स्थायी शान्ति स्थापित गर्नु आवश्यकता छ। अहिलेसम्म पनि यो काम पूरा नभएको कारणले गर्दा, शान्ति प्रक्रियामाथि बेला बेला प्रश्न उठ्ने गर्छ। यसमाथिको प्रश्न भनेको हामीले प्राप्त गरेको परिवर्तनमाथि पनि प्रश्न उठ्ने हो। त्यसकारण हामीले हरहालतमा यस पटक यो प्रक्रियालाई पूरा गर्न पर्छ। संक्रमणकालीन न्यायको काम पूरा गर्दै देशमा दिगो शान्ति स्थापना गर्नुपर्छ।’

यस्तै, उनले राजनीतिक परिवर्तनले राजनीतिक अधिकार मात्रै दिएको होइन जीवन नै परिवर्तन गरेको छ भन्ने अनुभूति जनतालाई गराउनु पर्ने पनि बताए। राजनीतिक परिवर्तन र राजनीतिक अधिकारलाई माध्यम बनाएर सामाजिक–आर्थिक रुपान्तरण गर्नु पर्ने उनको भनाई छ। 

उनले भने, ‘राजनीतिक परिवर्तन र राजनीतिक अधिकारलाई माध्यम बनाएर, यसलाई साधन बनाएर हामीले सामाजिक–आर्थिक रुपान्तरण गर्नु छ। विकास र समृद्धिको यात्रालाई तीव्र बनाउनु छ ताकि जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, बाटा, बिजुली, खानेपानीलगायत जीवनका आवश्यकताहरु पूरा गर्नका लागि पनि राजनीतिक परिवर्तनले राजनीतिक अधिकार मात्रै दिएको होइन यसले जीवन नै परिवर्तन गरेको छ भनेर जनताले अनुभूति गर्न सक्नु पर्छ।’
 

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, असोज १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्