छात्रावासमा बालक मृत भेटिएपछि आक्रोशित आफन्तद्वारा विद्यालयमा आगजनी
सलाम बुबा राजेन्द्र पुलामी मगरले आफ्नो छोराको हत्या भएको भन्दै विद्यालयका सञ्चालक र होस्टेलका कर्मचारीमाथि निष्पक्ष छानबिन हुनेपर्ने बताए।
सुर्खेत, असोज १३ : सुर्खेतको वीरेन्द्रनगर-६ घण्टाघरस्थित उषा बालवाटिका सेकेन्डरी स्कुलकाे छात्रावासमा एक बालक मृत भेटिएपछि आफन्त आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका क्रममा आक्रोशित आफन्तले विद्यालयमा आगजनीसमेत गरेका छन्।
शुक्रबार दिउँसो विद्यालयबाट छात्रावास पुगेका बालक सलाम पुलामी मगर बेलुका झुन्डिएको अवस्थामा भेटिएका थिए। दैलेखको चामुण्डा घर भएका नौ वर्षीय बालक सलामको हत्या भएको आरोप लगाउँदै आन्दोलनमा उत्रिएका आफन्तले दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन्। सलाम बुबा राजेन्द्र पुलामी मगरले आफ्नो छोराको हत्या भएको भन्दै विद्यालयका सञ्चालक र होस्टेलका कर्मचारीमाथि निष्पक्ष छानबिन हुनेपर्ने बताए।
राजेन्द्र र उनकी श्रीमती कालिकोटमा होटल सञ्चालन गर्दै आएका कारण छोरा सलामलाई उषा विद्यालयको छात्रावासमा राखेका हुन्। बालकको शव आफन्तले उठाउन दिएका छैनन्। शव अहिले पनि घटनास्थलमै छ।
प्रारम्भिक अनुसन्धानअनुसार बालकको शव झुण्डिएको अवस्थामा रहेकाले आत्महत्या हुन सक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनाको अनुसन्धानका लागि विद्यालयका प्रिन्सिपल प्रकाश भुसाल र होस्टेलका वार्डेन सुशील भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।











