Kathmandu Press

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

भूकम्प र कोरोना महामारीका कारण बन्द भएका नाकाहरु पुनः सञ्चालन गर्ने र केही नाकाको स्तर वृद्धिसमेत गर्ने सहमतिले सीमा क्षेत्रका नागरिकका लागि पनि यो खुसीको विषय भएको उनले बताए।
प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद


काठमाडौं, असोज १३ : प्रधानमन्त्री पुष्पकमल दाहालको चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताएका छन्।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका परराष्ट्रमन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए।

चीनका राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको भन्दै उनले दुई देशका बीच भएका समझदारी एवं सम्झौताहरू पनि नेपालको हित एवं आर्थिक विकासका पक्षमा रहेको उल्लेख गरे।

“अगामी दिनमा चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको छ”, उनले भने, “दुई देशका बीच भएका विभिन्न १३ वटा सम्झौता र समझदारी तथा दुई देशबीचका परम्परागत सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा विश्वास छ।”

भ्रमणका क्रममा चीनले लामो समयदेखि नेपाललाई उपलब्ध गराउँदै आएका अनुदान परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा कुराकानी भएको र नाका खोल्ने विषयमा चीन सरकार पूर्णरूपमा सहमत भएको उनको भनाइ छ। अब  नाका खोल्ने विषयको प्रक्रिया छिट्टै अगाडि बढ्ने विषय सुनिश्चित भएको पनि मन्त्री साउदको भनाइ छ।

विसं २०७२ को भूकम्प र कोरोना महामारीका कारण बन्द भएका नाकाहरु पुनः सञ्चालन गर्ने र केही नाकाको स्तर वृद्धिसमेत गर्ने सहमतिले सीमा क्षेत्रका नागरिकका लागि पनि यो खुसीको विषय भएको उनले बताए।

त्यसैगरी दुई देशका बीचमा त्यति ठूलो सीमा विवाद नभए पनि सीमालाई अद्यावधिक गर्नुपर्ने भएकाले सीमा क्षेत्रमा निरीक्षणका लागि दुवै देशको संयुक्त टोली बनाइ काम गर्ने सहमति भएको मन्त्री साउदले बताए।

चीनसँग नेपालको व्यापार घाटा कम गर्नका लागि कृषिजन्य वस्तुको उत्पादन र चीन निर्यात गर्न सकिने उनले बताए। उनले यसका लागि नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा भित्र्याउने विषयमा पनि चीनसँग महत्वपूर्ण सहमति भएको उल्लेख गरे।

कृषि क्षेत्रको विकासका सन्दर्भमा यो सम्झौता महत्वपूर्ण विषय भएको र यसले नेपालको कृषि उपजलाई चीन निर्यात गर्न र नेपालमा कृषिमा आधारित उद्योग धन्दाहरू खोल्नका लागि सहयोग पुग्नेमा मन्त्री साउदले विश्वास व्यक्त गरे।

आफूले पनि परराष्ट्रमन्त्रीको हैसियतले विभिन्न देशका विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपालको हित र चासोका विविध विषयमा कुरा उठाएको मन्त्री साउदले जानकारी दिए।

प्रकाशित मिति: ०९:२६ बजे, शनिबार, असोज १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्