प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै
चीनको ८ दिने भ्रमण सकेर उनी बिहान ११ बजे काठमाडौं आइपुग्ने बताइएको छ।
काठमाडौं, असोज १३ : अमेरिका र चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने अमेरिका पुगेका प्रधानमन्त्री दाहाल उतैबाट गत शनिबार चीन गएका थिए। चीनको ८ दिने भ्रमण सकेर उनी बिहान ११ बजे काठमाडौं आइपुग्ने बताइएको छ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल शुक्रबार तिब्बतको ल्हासाबाट छेन्दु पुगेका थिए। उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङलगायतले स्वागत गरेका थिए।
प्रधानमन्त्री दाहालले छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्नुका साथै साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग दुईपक्षीय भेटवार्ता गरेका छन्।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङलगायत चिनियाँ उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।











