चिकित्सकमाथिको आक्रमणबारे स्वास्थ्यमन्त्री भन्छन्- एक्लो प्रयासले केही हुन्न
प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चिकित्सकहरुमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाहरुसँगको छलफलमा उनले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा विकास गर्नु सबैको दायित्व भएको बताए।1695979641.jpg)
काठमाडौं, असाेज १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधारका लागि सबै एकताबद्ध भएर लाग्नु आवश्यक भएको बताएका छन्।
प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चिकित्सकहरुमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाहरुसँगको छलफलमा उनले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा विकास गर्नु सबैको दायित्व भएको बताए।
उनले भने ‘शान्ति सुरक्षाको हिसाबले यो क्षेत्रलाई व्यवस्थित गर्न हामी सबैको दायित्व हो, हामीले गर्ने नै हो र यसको साथै अरु व्यवस्था गर्नको लागि सबैले आँट गरेर दरो भएर प्रस्तुत हुनुपर्छ।’ उनले स्वास्थ्य क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न स्वास्थ्यकर्मी र गृहमन्त्रालयको समन्वयमा स्वास्थ्य मन्त्रालयले आवश्यक समन्वय गरिरहेको पनि रहेको बताए।
उनले भने, ‘स्वास्थ्य मन्त्रालयले आफ्नो अभियान अगाडि बढाएको छ, जसमा सम्बन्धित डाक्टरसंग समन्वय पनि रहेको छ। गृहमन्त्रालय पनि अगाडि बढेको छ।’
दरबन्दी नेपाल सरकारको पैसाले सिर्जना गर्ने हो भने उपकरणका लागि अन्तराष्ट्रिय संस्था, निकाय र डाक्टरहरुको राष्ट्रिय सम्मेलनबाट भए पनि पैसा ल्याउन सक्ने उनको भनाइ छ। त्यस्तै उनले चिकित्सा शिक्षा ऐनमा केही राम्रा पक्षहरुको सुरुवात भएको दाबीसमेत गरे।
‘चिकित्सा शिक्षा ऐनले केही राम्रा पक्षहरु सुरुवात भएको छ, तर त्यो सुरुवात भएका कुराले हाम्रो राज्यलाई पुगेन र हामीलाई चाहिने आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने कुरामा यो उत्पादनले स्वास्थ्यकर्मीहरु पाँच वर्षपछि हामीले खोज्नु पर्ने दिन आउँछ। चिकित्सा शिक्षा ऐनमा केही कमीकमजोरीहरु छ, त्यसलाई सुधार गर्नका लागि यो संशोधनको प्रक्रियामा जाने भन्ने प्रधानमन्त्रीको पनि निर्देशन रहेको छ। यो काम पनि अगाडि बढ्ने कुरा छ।’
त्यस्तै उनले खरिद प्रक्रियाबारे पनि आवश्यक सुधार भएको जिकिर गरे। ‘उपकरणको विषयमा धेरै कुराहरु उठ्यो, जुन अस्पतालमा अलि बढि खरिद प्रक्रिया सुरु हुन्छ त्यहाँ जान अलिबढि इच्छा जाहेर हुने गरेको पाएँ। उपकरणहरु किन्ने तर त्यसको प्रयोग नभएको उपकरणको विवरण र अहिलेको अवस्थाको बारे जानकारी गराउन निर्देशन दिएपछि प्रयोगमा नभएको उपकरणहरुलाई दुर्गम स्थानहरु पठाउने काम भयो।’











