सकेसम्म सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस् भन्ने गरेको छु : ओली

विराटनगर, असोज १२ : एमाले अध्यक्ष केपी ओलीले प्रदेश अधिवेशनका क्रममा आफूले कसैलाई भोट दिन नभनेको बताएका छन्।
कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न शुक्रबार विराटनगर पुगेका ओलीले केही सञ्चारमाध्यम र विरोधीहरुले कार्यकर्ताका नाममा आफ्नो इच्छा थोपर्न खोजेको भन्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारे।
‘केपी ओलीले भनेको कार्यकर्ताले मानेनन् भन्ने सन्देश दिन खोजिएको छ,’ विराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले भने, ‘मैले यसलाई भोट दिनू, यसलाई नदिनू भनेको छैन। सकेसम्म सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस् भन्ने गरेको छु।’
ओलीले अहिलेको सरकार रहिरहनु देशका लागि दुर्भाग्य भएको बताएका छन्। उनले कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको उनले बताए। प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भए पनि कांग्रेसले यसबारे नसोचेको उनको भनाइ थियो।











