एमाले वाग्मती प्रदेश नेतृत्वका लागि मतदान सुरु

काठमाडौं, असाे १२ : एमाले वाग्मती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।
असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको एमालेले सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो। रामेछापका कैलाशप्रसाद ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुँदैछ।
उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा उम्मेदवार तय भएका छन्। उनी दाहाल पक्षका हुन्। ढुंगेलले उपाध्यक्षमा चितवनका दावा लामालाई मैदानमा उतारेका छन्।
त्यसैगरी सचिवमा हस्त पण्डित र नवराज सिलवाल उम्मेदवार छन्। सिन्धुपाल्चोकका पण्डित ढुंगेल पक्षका हुन्। दाहाल पक्षका सिलवाल ललितपुरका पूर्वसांसद हुन्।
अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए। त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए।
सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन्।











