पढ्न उमेरले छेक्दैन

जानकी (बाँके), असोज १२ : वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गरेकी दुजीकुमारी ओली। उमेरले उनी ५० वर्ष नाघिसकेकी छन्। हेर्दा लाग्छ, उनी ती नानीबाबुलाई सिकाउने शिक्षिका हुन्। तर उनी शिक्षिका नभई नातिनातिना उमेरका तिनै साना नानीहरूसँगै बसेर वर्णमाला र अंकगणित सिक्ने कक्षा १ को विद्यार्थी हुन्।
दुजी ओली यतिबेला बाँकेको कोहलपुरस्थित ज्ञानज्योति माध्यामिक विद्यालयमा कक्षा १ मा पढिरहेकी छन्। उमेरले ५१ वर्ष पुगिसक्नुभएकी दुजीकुमारीलाई उनका नातिले पढ्न हौस्याएको बताउँछिन्। 'नातिलाई विद्यालयको गृहकार्य गर्न लगाउँदा तपाईंलाई एक, दुई, तीन त आउँदैन, मलाई के पढ भन्छिन् भनेर जवाफ फर्काएपछि सिक्नकै लागि स्कुल भर्ना भएँ,' दुजी भन्छिन्।
बाँकेको कोहलपुर नगरपालिका–११ सैनिकटोलकी दुजीलाई ६ वर्षको नातिले लगाएको बचनले स्कुलको कक्षा कोठासम्म पुर्याएको उनकाे भनाइ छ। 'मलाई पढ्न मन त पहिलादेखि नै थियो तर त्यो दिन नातिले त्यसो नभनेको भए म अझै पनि घरधन्दामै अल्झिरहन्थे होला', उनी भन्छिन्।
आफ्नो सहपाठी आफ्नै उमेर समूहको नभई नातिनातिनी उमेरको हुँदा नजानेको कुरा सोधेर सिक्नलाई सजिलो भएको दुजी बताउँछिन्। 'मलाई धेरै कुरा आउँदैन। नजानेको कुरा सिक्नलाई साना उमेर भएका यिनै साथीहरूले राम्ररी सिकाउँछन्', उनले भनिन्, 'ठूलालाई नजानेको कुरा सोध्न लाज लाग्छ तर सानाबाट नजानेको कुरा सिक्न लाज नलाग्ने रहेछ', उनले भनिन्, 'मेरा साथीहरू साना उमेरका भएको हुनाले नै मैले छोटो समयमा धेरै कुरा सिकेको छु।'
पच्चीस वर्षदेखि एकल महिला भएर छोराछोरीको जिम्मेवारी पूरा गर्दै आउनुभएकी दुजीकुमारीले अहिले पनि घरको काम सकेर स्कुल आउने जाने गर्नुहुन्छ। कक्षा १२ सम्मको पढाइ पूरा गरेर कम्प्युटर सिक्ने इच्छा भएको उनले बताइन्। सुरुमा पढ्नलाई छोराले आनाकानी गरे पनि अहिले भने साथ दिएको र बेला–बेला सिकाउने गरेको पनि उनले बताइन्।
उनले अहिले बाह्रखरी अक्षर चिन्नुका साथै अङ्कहरू मज्जाले लेख्न र पढ्न सक्नुहुन्छ। इकार र आकारका मात्राहरू सिक्न र आधा अक्षरहरू चिन्न बाँकी रहेको उनले बताइन्। स्कुल पढ्न गएदेखि आफूले जानेको कुरा अरुलाई सुनाउन पाउँदा पनि खुसी लागेको उनकाे भनाइ छ।
शिक्षिका गीता श्रेष्ठले पनि पढाएको कुरालाई छिट्टै बुझ्ने र सिक्ने क्षमता भएको हुनाले दुजीले कक्षा १ राम्रै अंक लिएर पास गर्ने बताइन्। कक्षामा उनी शिक्षकले पढाएको मज्जाले बुझ्छिन्। दिएको गृहकार्य पनि सबै गरेर आउनुहुन्छ। अक्षर पनि निकै सफा छ उनकाे। दश वर्षमा एसइई परीक्षा उत्तीर्ण गर्ने उनकाे जीवनको एउटै धोको छ।
दुजीकुमारीजस्तै सोही ठाउँकी प्रेमकुमारी गिरी पनि ६१ वर्षको उमेरमा कक्षा ६ मा पढ्न स्कुल जाने गर्नुहुन्छ। प्रेमकुमारीलाई बिहान स्कुल जानको लागि घरको काम सक्न भ्याइनभ्याइ हुन्छ। कोहलपुर नगरपालिका–५ एनसीसिएनकी प्रेमकुमारी पनि सोही स्कुलमा पढ्छिन्।
प्रेमकुमारीको १३ वर्षको उमेरमा विवाह भएको थियो। विवाहपश्चात पारिवारिक बन्धनमा बाँधिनुभएकी उनले १६ वर्षकै उमेरमा पहिलो सन्तानका रूपमा छोरीलाई जन्माइन्। सन्तानको मोहले पढ्न नपाएको पीडालाई मनमै भुलाइदिइन्। समय बित्दै गइन्। प्रेमकुमारी पनि छ सन्तानको आमा बनिन्। एउटा छोरा र पाँचवटी छोरीलाई हुर्काउँदैमा उनकाे पढ्ने रुचि मात्रै मरेन, उमेर पनि ढल्कँदै गयो। सानैमा अधुरो भएको पढाइलाई उनले घरपरिवार र सन्तानप्रतिको जिम्मेवारीकै कारण पूरा गर्न सकिनन्।
'विवाह भएपछि पनि मैले पढ्छु भनेर धेरैपटक कोसिस गरेँ', तर घरमा त्यो वातावरण नै भएन। श्रीमान्को माया, परिवारको साथ, सन्तानको सुख सबै पाएँ तर पढ्न नपाएको विषयमा दुखेको मनलाई शान्त गर्न सकिनँ', उनले भनिन्, 'भगवान्ले भन्छिन् तँ आँट म पुर्याउँछु। आज मलाई त्यस्तै भएको छ। मैले आँटे भगवान्ले मलाई यो स्कुलसम्मको बाटो देखाइदिनुभयो।'
पढ्नलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रेमकुमारी। आकाशे रङको कुर्तामा गाढा निलो रङ्को डुपट्टा र सुरुवाल लगाएर हातभरि कपी किताब बोक्दै उनी नियमित स्कुल जाने गर्छिन्। सानैमा कक्षा ३ सम्म पढेर बीचैमा पढाइ छाड्नुभएकी प्रेमकुमारीलाई कक्षा ६ मा भर्ना हुँदा सामान्यरुपमा लिखित र मौखिक परीक्षा लिइएको उनले बताइन्।
'मैले पहिला नै ३ कक्षा पास गरेको थिएँ। मेरो पढ्ने इच्छा देखेर मलाई स्कुलका प्रधानाध्यापकले कक्षा ५ मा भर्ना गरिदिनुभयो', उनले भनिन्, 'कक्षा ५ मा भर्ना हुँदा भर्खरै स्कुल पढ्ने उमेरको भएकी छु भन्ने लागेको थियो।' आफ्नी श्रीमतीलाई यो उमेरमा पनि पढ्न मन लागिरहेको छ भन्ने थाहा पाउनुभएका श्रीमान् जनकबहादुर रावतले पढ्नका लागि अनुमति दिएकै कारण आज उनी नियमित स्कुल जान पाइरहनुभएको छ।
'स्कुल गएर पढ्छुभन्दा सुरुमा त जिस्किएको होला भन्न ठान्नुभएको रहेछ उनले, तर मैले साँच्चै नै म स्कुल गएर पढ्न चाहन्छु भन्दा उनले पढ्ने इच्छा नै भएको हो भने बीचैमा पढाइ छाड्न पाउँदिनौं नि भनेर पढ्नलाई अनुमति दिनुभयो', खुसीको आँशु छछल्क्याउँदै प्रेमकुमारीले श्रीमान्ले पढ्नलाई अनुमति दिएको कुरा सुनाए।
प्रेमकुमारीको भनाइअनुसार श्रीमान् जनकबहादुरको दिनचर्या हिजोआज श्रीमतीलाई स्कुल जान ढिला हुुन्छ कि भनेर घडी हेर्ने र बेलुका घर फर्कने समय कुर्दैमा बित्ने गर्दछ। 'बुढेसकालमै भए पनि श्रीमान्ले स्कुल जाने समय सम्झाउनुहुन्छ। अनि म स्कुलबाट घर कतिबेला आउँछु भनेर कुरी बस्नुहुन्छ', उनले भनिन्, 'बुढेसकालमै भए पनि श्रीमान्ले मेरो पढाइका लागि दिनुभएको ऊर्जा र सहयोगप्रति म निकै नै खुसी छु, प्रेमकुमारीलाई आँखाले साथ दिँदासम्म पढ्ने रहर छ।'
प्रेमकुमारीजस्तै सोही कक्षामा पढ्छिन् हरिकला नेपाली पनि। उनले उमेरले ३६ वर्षको हुनुभएको छ। एक छोरीकी आमा हरिकलालाई पढ्ने रहर हुँदाहुँदै पनि उमेरले तीन दशक नाघिसकेको हुनाले स्कुलमा गएर पढ्न अप्ठ्यारो बनाइरहेको बताइन्। उनका अनुसार प्रेमकुमारी गिरीलाई स्कुलको लुगा लगाएर किताब बोक्दै हिँडेको कुराले पढ्नका लागि उनललाई हौसला दिएको छ।
'पढ्ने एकदमै रहर थियो तर ३६ वर्षकी भइसकेकी थिएँ। स्कुल गएर पढ्न लाज लगिरहेको बेला मैले प्रेमकुमारी दिदीलाई किताब बोकेर स्कुल जानेआउने गरेको देखेँ। उहाँलाई देखेर नै मलाई पनि स्कुलमा आएर पढ्ने हिम्मत मिलेको हो', हरिकलाले भनिन्, 'छुटेको पढाइलाई फेरि पूरा गर्न पाएकामा निकै खुसी लागेको छ। कुनै पनि हालतमा एएसइई पास गर्नु छ।' हरिकलालाई वैदेशिक रोजगारमा रहनुभएका श्रीमान् नथु गुरुङले पनि पढ्नलाई साथ दिएको उनले बताइन्।
पढ्ने रहर मनमा हुँदाहुँदै पनि आफ्नो उमेर समूहको महिला पढ्ने स्कुलको खोजीमा रहेकी हरिकालालाई घर नजिकै स्कुलमा आफूभन्दा पनि बढी उमेर भएका साथीसँगै पढ्न पाएकामा उनलाई अहिले लाज हराएको बताइन्। हरिकलाले आफ्नो प्रेरणाको स्रोतको रूपमा प्रेमकुमारी गिरी र खगीसरा खाणलाई मान्नुहुन्छ। आफूभन्दा उमेरमा दोब्बर भए पनि एउटै उमेर समूहजस्तै लाग्छ हरिकलालाई सहपाठीद्वय प्रेमकुमारी गिरी र खगिसरा खाण।
ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन्। ती ७७ विद्यार्थीमध्येका आमा विद्यार्थी हुन् प्रेमकुमारी, हरिकला र खगिसरा। विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बिरामी हुँदाबाहेक नियमितरूपमा उहाँहरू स्कुल आउने गरेको बताउँछिन्। उनी भन्छिन्, 'पढ्ने इच्छा भएकालाई हामीले उमेरकै कारण देखाएर रोक्न मिल्दैन। लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहे पनि पास गर्न सक्नुहुन्छ भन्ने लागेर नै उहाँहरूलाई भर्ना गरेका हौँ।' सो विद्यालयमा पाँच सय ६८ विद्यार्थी अध्ययनरत छन्।











