अहिलेको सत्तासँग आम नागरिक रुष्ट छन् : पूर्वप्रधानन्यायाधीश कार्की
पूर्वप्रधानन्यायाधीश कार्कीले नेताहरूले आफूले राम्रो गरेको भनेर एकोहोरो ताली पड्काएर हिँडेको बताउँदै नेताको कामबाट जनता विरक्तिएको बताइन्।
काठमाडौं, असोज ११ : पूर्वप्रधानन्यायधीश सुशीला कार्कीले आम नागरिक अहिलेको शासन पद्दतिप्रति रुष्ट रहेको दाबी गरेकी छिन्।
आज काठमाडौंमा आयोजित सुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उनले अहिले सत्तामा बस्नेहरुले आफ्नो र आफ्नाहरुका मात्रै हित हेरेको उनको आरोप छ ।
‘अहिलेको शासनबाट हुँदैन भन्ने कुराको विमति हरेक जनताको मनमा छ । सत्तामा बस्नेहरु आफू हाँस्नु हुन्छ, आफू नै नाच्नु हुन्छ, आफू खुसी आनन्द मनाई रहनु भएको छ,’ उनले भनिन्, ‘जनताहरूलाई दुख भएको छ। जनताले भएनभन्दा पनि आफूले के के नै गरेको जस्तो मुखमा जे आए पनि बोल्या छ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले नेताहरूले आफूले राम्रो गरेको भनेर एकोहोरो ताली पड्काएर हिँडेको बताउँदै नेताको कामबाट जनता विरक्तिएको बताइन्। उनले देशमा सुशासन, विकास र समृद्धिको खाँचो रहेको तर सक्तामा बस्नेहरुले त्यसतर्फ ध्यान नै नदिएको बताइन्।
‘सुशासन, विकास र समृद्धि यो तीवटा कुराको खाचोँ छ तर यसको स्थापनाको लागि इमान्दारिताको आवश्यकता हुन्छ। जसले शासन गर्छ, जो सत्तामा बस्छ त्यो व्यक्तिमा इमान्दारिता र निष्ठा हुनुपर्छ,’ उनले भनिन् ‘वर्तमानमा गलाभरि माला लगाउन पाए पुग्यो, इतिहासमा मेरो मूल्यांकन के छ, के भन्लान त्यो कुराको हेक्का नै राख्नु हुन्न भने हामी के भन्नु, देशमा काण्डै काण्ड र भ्रष्टाचार बाहेक केही छैन्। सत्तामा टिक्नको लागि फोहोरी काम गर्नुभएको छ।’
मुलुक कमिशन र भ्रष्टाचारमा फसेको भन्दै उनले नागरिकले पनि त्यसको खुलेर विरोध गर्न नसकेको बताइन्।











