Kathmandu Press

एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

विराटनगर, असाेज ११ : नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशन भोलिदेखि प्रदेश राजधानी विराटनगरमा हुने भएको छ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

अधिवेशन आयोजक मूल समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो। पार्टीका प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मनोनीत बाहेकका प्रतिनिधि छनोटको कार्य पूरा भएको बताए। भोलि शुक्रबार उदघाटन हुने अधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ। अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने प्रदेश कमिटी अध्यक्ष न्यौपानेले बताए।

अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ। पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने बताए।

अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनाइएको छ। अधिवेशन लागि ९९७ प्रतिनिधि चयन भए पनि त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन सकेको छैन। 

अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गरिने जनाइएको छ। प्रचार उपसमिति संयोजक शैलेश लामाले अधिवेशनले राजनीतिक वृत्तमा महत्वपूर्ण सन्देश प्रवाह गर्ने बताए। पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य भीम आचार्य, अग्नि खरेल, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाम्फे लगायत नेताहरुको सहमागिता थियो।
 

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, असोज ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्