तिब्बतमा प्रधामन्त्री दाहाल र सिपिसीका सचिव वाङबीच भेटवार्ता
भेटमा प्रधानमन्त्री दाहालले चीन सरकारले नेपाल–चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएकाले सियाङको नेतृत्वमा भएका नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान पुगेको बताए।
काठमाडौं, असोज १० : चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गरेका छन्।
भेटमा प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ सियाङलाई चीन सरकारले नेपाल–चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएकाले सियाङको नेतृत्वमा भएका नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान पुगेको बताए।
प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचका द्विपक्षीय हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि बताएका थिए।
भेटवार्तामा सचिव सियाङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुर्याउन आफू अझ सक्रिय रहने उल्लेख गरे।
प्रधानमन्त्रीको सम्मानमा सचिव सियाङले आजै यहाँ रात्रिभोजको आयोजना गरेका छन्।











