शिक्षा विधेयकलाई आवश्यकता अनुसार परिमार्जन गर्न कांग्रेसले पहल गर्ने
सरोकारवालासँग छलफल गर्दै कांग्रेस संसदीय दलले विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा सरोकारवालाको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने निर्णय गरेको हो।
काठमाडौं, असोज १० : नेपाली कांग्रेसले विद्यालय शिक्षासम्बन्धी विधेयकलाई आवश्यकता अनुसार परिमार्जन गर्न पहल गर्ने भएएको छ। सरोकारबालाहरुसँगको छलफलमा कांग्रेसले यस्तो निर्णय गरेको हो।
मंगलबार र बुधबार संसद भवन नयाँ बानेश्वरमा विद्यालय शिक्षासम्बन्धी विधेयकमा बारेमा सरोकारवालासँग छलफल गर्दै कांग्रेस संसदीय दलले विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा सरोकारवालाको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने निर्णय गरेको हो।
कांग्रेसले विधेयकलाई आवश्यकता अनुसार परिमार्जन गर्न पहलकदमी लिने जनाएको हो छ। छलफलमा कांग्रेस नेता अर्जुननरसिंह केसीले शैक्षिक पेशलाई मर्यादित, सुरक्षित र शिक्षकहरुको हक अधिकारलाई कानूनमार्फत प्रत्याभूत गर्न गम्भीर हुनुपर्ने बताए।
उनले कानून बनाउँदा सरोकारवालाहरुसँग बृहत छलफल गर्नुपर्ने र प्राप्त सुझावका आधारमा अन्तिम रुप दिन सरकार गम्भीर हुनुपर्ने बताए। ‘शैक्षिक समस्याप्रति गम्भीर भएर कांग्रेसले सरोकारवाला लगाएत बिज्ञहरुसँग छलफल गरेको हो। प्राप्त सुझावहरु प्रति कांग्रेसको ध्यानाकर्षण भएको धारणा छ,’ उनले भने।
छलफलपछि कांग्रेस उपसभापति समेत रहेका कानूनमन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय, शिक्षा लगाएत धेरै विधेयकहरु छलफलका क्रममा रहेको भन्दै महत्वपूर्ण विधेयकहरुलाई टुङ्गो लगाएर मात्रै अधिवेशन अन्त्य गर्न चाहेको बताए,
त्यस्तै कांग्रेस प्रमुसख सचेतक रमेश लेखकले छलफलमा आएका विचारहरुमाथि छलफल गरेर विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने बताए। उनले शिक्षकहरूको माग सम्बोधनका लागि संविधान संशोधन गर्न आवश्यक नभएको बताए।
लेखकले लामो समयदेखि संसद अवरोध हुँदा महत्वपूर्ण विधेयकहरु अघि बढ्न नसकेको र सानो सानो कुरामा संसद अवरुद्ध हुनु संसदीय अभ्यासको खराब कुरा भएको उल्लेख गरे।
विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौं केन्द्रित आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग ६ बुँदे सहमति भएको थियो। तर, आफुहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरु अहिले पनि आन्दोलनमै छन् ।
विधेयकमाथि शिक्षकहरुको आपत्ती रहेपछि कांग्रेसले सरोकारवालासंग छलफल गरेको हो।











