एमाले वाग्मतीको नेतृत्व लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल भिड्ने
दाहाललाई पोलिटब्युरो सदस्य गोकुल बास्कोटा र ढुंगेललाई अर्का नेता महेश बस्नेत पक्षकाे साथ रहेकाे बताइन्छ।
काठमाडौं, असोज १० : नेकपा एमाले वाग्मती प्रदेशको निर्विरोध नेतृत्व चयान प्रयास असफल भएको छ। केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ।
अध्यक्षका लागि हालका अध्यक्ष केशव पाण्डे, सानुकुमार श्रेष्ठलगायतले रुचि देखाए पनि दाहाल र ढुंगेल नै अन्तिमसम्म चुनावी मैदानमा टिकेका हुन्।तथापि मकावनपुरका दाहाल र रामेछापका ढुंगेलमध्ये एउटालाई नेतृत्वका लागि अगाडि सार्ने प्रयास भए पनि दुवैले अडान नछाडेपछि निर्वाचन हुने भएको हो।
दाहाललाई पोलिटब्युरो सदस्य गोकुल बास्कोटा र ढुंगेललाई अर्का नेता महेश बस्नेत पक्षकाे साथ रहेकाे बताइन्छ। एमालेमा प्रदेश नै पिच्छे देखिएको फरकफरक गुट वाग्मतीको हकमा बास्कोटा र बस्नेत पक्ष भएर उभिएको नेताहरू बताउँछन्।
निर्वाचनको लागि आज ३ बजे मनोनयन फारम वितरण गरियो। अब ४ देखि ६ मनोनयन दर्ता हुन्छ भने ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन र भोलि बिहान ११ बजेदेखि मतदान हुने बताइएको छ।
बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रन्ता गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ।











