Kathmandu Press

एमाले वाग्मती प्रदेश अधिवेशनमा सहमतिको प्रयास

एमाले वाग्मती प्रदेश अधिवेशनमा सहमतिको प्रयास

काठमाडौं, असोज १० : नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयाससँगै उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु भएको छ। सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा केही घन्टा ढिलो गरी मतदाता नामावली प्रकाशन गरिएको छ। 

बन्दसत्रका अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले अध्यक्षका सम्भावित उम्मेदवारसँग सहमतिको प्रयासका लागि अध्यक्ष मण्डलले एक चरण छलफल गरेको जनाउँदै अपराह्न २ बजे उम्मेदवारीको मनोनयन दर्ता कार्यक्रम राखिएको र सो पश्चात पनि सहमतिको पहल हुने बताए। छलफलमा अध्यक्षका आकांक्षी केशवराज पाण्डे, कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल र सानुकुमार श्रेष्ठ सहभागी थिए।

अध्यक्ष मण्डलका अर्का सदस्य आनन्दप्रसाद पोखरेलले उम्मेदवारको आधिकारिक मनोनयन भइसकेपछि सहमति हुने वा नहुने निधो लाग्ने बताए। यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो।

बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रन्ता गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ।

प्रकाशित मिति: १४:३६ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्