प्रधानमन्त्री दाहाल ल्हासामा, कैलाश मानसरोवर पनि जाने
उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे।
काठमाडाैं, असोज १० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन्।
गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन्। उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे।
प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ।

उनले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। उनी आज ल्हासामै बस्नेछन्। दाहाल आजै साँझ वाङले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । उनका साथमा उनको भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन्।
यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर गएका थिए। छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामबारे जानकारी लिएका थिए।
तिब्बतमा रहँदा प्रधानमन्त्री दाहालले कैलाश मानसरोवर एवं कैलाश पर्वत र ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालय भ्रमण गर्ने कार्यक्रम छ।











