Kathmandu Press

स्वास्थ्य संस्थामा अस्वाभाविक हुलहुज्जत र गुन्डागर्दी बढेको भन्दै चिकित्सक संघकाे आपत्ति

स्वास्थ्य संस्थामा अस्वाभाविक हुलहुज्जत र गुन्डागर्दी बढेको भन्दै चिकित्सक संघकाे आपत्ति

काठमाडौं, असोज ९  :  नेपाल चिकित्सक संघले देशका विभिन्न ठाउँमा चिकित्सकलाई लक्षित गरी भएका सांघातिक आक्रमण र स्वास्थ्य संस्थामा अस्वाभाविक हुलहुज्जत र गुण्डागर्दी बढेको भन्दै आपत्ति जनाएको छ। 

हेटौंडामा भएको घटनालाई लिएर सरकारसँग सम्झौता गरेको एक हप्ता नपुग्दै देशको विभिन्न स्थानमा चिकित्सकमाथि आक्रमण हुनुले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्‍याएको संघले ठहर गरेको छ। 

Hardik ivf

संघका महासचिव डा. सञ्जीव गिरीले विज्ञप्तिमा जारी गरेर भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण भएयता बुटबल, लमजुङ, मणिपाल शिक्षण अस्पताल पोखरा, विराटनगर, बघौडा अस्पताल चितवन, पाटन अस्पताल लगायतमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको जनाएका छन्।

‘‘सरकार समक्ष गरिएको सम्झौताको हप्ता दिन पनि नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरुलाई लक्षित गरी सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाइनु तथा स्वास्थ्य संस्थामा अत्यन्तै अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुण्डागर्दीले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएके छ। 

चिकित्सकमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९  बमोजिम कानूनी कारवाही नगरिनु, सुरक्षाकर्मीहरुको भूमिका शंकास्पद हुनु तथा समग्र स्वास्थ्यकर्मीहरु अत्यन्तै असुरक्षित र भयभित भइरहेको विद्यमान अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने वातावरण नभएको संघको भनाइ छ।

पोखरामा चिकित्सकमाथि लाठीचार्ज र हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास भएको समेत संघले जनाएको छ। दोषीलाई कानुनको दायरामा ल्याई चिकित्सकीय सेवामा संलग्न जनशक्तिको सुरक्षा र कानुनी राज्य छ भन्ने प्रत्याभूति दिलाउन सरकारसमक्ष संघले आग्रह गरेको छ।

संघले चिकित्सकमाथि भइरहेका आक्रमणको घटनाका विषयमा भावी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिक भूमिकाका विषयमा छलफल गर्न भोलि १० गते विस्तारित बैठक बोलाएको जानकारी पनि गराएको छ।

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्