Kathmandu Press

चीनले चक्रपथको दोस्रो चरणको विस्तारमा तीव्रता दिने

यातायात र राजमार्ग विस्तारका सन्दर्भमा यसअघि भएका सहमतिहरूलाई कार्यान्वयनमा लैजाने विषयमा पनि चीन र नेपालबीच छलफल भएको छ।
चीनले चक्रपथको दोस्रो चरणको विस्तारमा तीव्रता दिने

काठमाडौं, असोज ९ : चीनले लिजी–नेचुङ सीमा बन्दरगाहको नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भ्रमणका क्रममा चीन सरकारले जतिसक्दो छिटो पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

प्रधानमन्त्री दाहालकै भ्रमणका क्रममा नेपाल र चीनले मंगलबार जारी गरेको संयुक्त वक्तव्यमा दुई देशबीच रहेका पारम्परिक सीमा व्यापार विन्दुहरूलाई पनि पुनः खोल्ने समझदारी भएको जनाइएको छ। त्यस्तै लिजी–नेचुङ बन्दरगाह र झाङ्मु-खासा सर्वसाधारणका लागि खोलिएकोमा दुवै पक्षले स्वागत गरेको पनि वक्तव्यमा जनाइएको छ।

त्यस्तै छेन्ताङ–किमाथांका र रिवु–ओलाङचुङगोला बन्दरगाह खोल्ने विषयमा पनि दुई पक्षबीच कुराकानी जारी रहने संयुक्त वक्तव्यमा उल्लेख छ। यातायात र राजमार्ग विस्तारका सन्दर्भमा यसअघि भएका सहमतिहरूलाई कार्यान्वयनमा लैजाने विषयमा पनि चीन र नेपालबीच छलफल भएको छ।

‘दुवै पक्ष भूपरिवेष्ठितबाट नेपाललाई भूजडित देश बनाउनका लागि यातायात र राजमार्गको उपयोगसम्बन्धी हस्ताक्षर भएका सहयोग लागू गर्न सहमत भएका छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ।

त्यस्तै टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन पनि नेपाल र चीन सहमत भएका छन्। उक्त आयोजनाले नेपाल–चीन सम्पर्कमा नयाँ आयाम थप्ने पनि दुवै मुलुकले जनाएका छन्। त्यस्तै काठमाडौंको चक्रपथको दोस्रो चरणको विस्तारलाई पनि छिट्टै कार्यान्वयनमा लैजाने संयुक्त वक्तव्यमा उल्लेख छ।

त्यस्तै जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा पनि दुवै मुलुक सन्तुष्ट रहेको जनाएका छन्। चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन तयार रहेको पनि वक्तव्यमा जनाइएको छ।

त्यस्तै नेपालले चीनलाई एक जोडी गैंडा दिने पनि संयुक्त वक्तव्यमा उल्लेख छ। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा नेपालले चीनलाई गैंडा उपहार दिने प्रतिबद्धता जनाएको पनि वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति: ११:२० बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
प्रतिक्रिया दिनुहोस्