Kathmandu Press

संघीयता कांग्रेसका लागि कसैले बोकाइदिएको भारी होइन : गगन थापा

उनले महाधिवेशनबाटै देशलाई संघीयतालाई लैजाने निर्णय गर्ने कांग्रेस नै पहिलो पार्टी भएको दाबी गरे।
संघीयता कांग्रेसका लागि कसैले बोकाइदिएको भारी होइन : गगन थापा

काठमाडौं, असोज ८ : कांग्रेस महामन्त्री गगन थापाले संघीयता कांग्रेसका लागि कसैले बोकाइदिएको भारी नभएको बताएका छन्।

केन्द्रीय कार्यसमितिको बैठकमा संघीयताबारे नेताहरूले विभाजित धारणा राखेपछि महामन्त्री थापाले कम्तीमा पनि कांग्रेसले संघीयतालाई अरूले बोकाइदिएको भारीका रूपमा लिन नहुने जवाफ दिए। उनले महाधिवेशनबाटै देशलाई संघीयतालाई लैजाने निर्णय गर्ने कांग्रेस नै पहिलो पार्टी भएको दाबी गरे।

‘संघीयता ठीक ढंगले चलिरहेको छैन, सुधार गरौँ भन्ने कुरा ठीक छ। तर योचाहिँ अरू कसैले बोकाइदिएको भारी हो भनेर यस्तो भारी हामी बोक्न सक्दैनौँ भनेर उम्किने मिल्दैन, यो नैतिकताको कुरा हो,’ उनले भने, ‘किनभने कांग्रेस नै मूलधारको त्यस्तो पहिलो दल हो जसले सबैभन्दा पहिले महाधिवेशनबाट निर्णय गरेर केन्द्रिकृत शासनलाई विकेन्द्रित गर्ने हाम्रो पार्टी हो।’

देशको आर्थिक संकटका विषयमा कात्तिक तेस्रो साता हुने इकोनोमिक समिटमा विस्तृत रूपमा छलफल गरिने महामन्त्री थापाले बताए।

यस्तै, महामन्त्री थापाले पार्टी सदस्य रहेका कसैले व्यक्तिगत रूपमा गरेको अपराधको भारी पार्टीले नबोक्ने बताएका छन्। उनले देश संकटमा छ भनेर अहिले कांग्रेसले उम्किने अवस्था नरहेको उल्लेख गरे।

उनले यस्तो बेला जनताले कांग्रेसले गर्ने हरेक गतिविधिलाई नजिकबाट मूल्यांकन गरिरहेको स्मरण गराए । ‘यतिबेला हामीले जनताका तर्फबाट बनाइएका माापदण्डहरूमा पास हुनुपर्नेछ । हामीले हिजो भ्रष्टाचारमुक्त शासन, सुशासन र डेलिभेरीको कुरा गरेर आयौँ, गरिरहेका हुन्छौँ, अहिले जनताले यही कुरा हामीसँग खोजिरहेको छ।’

 

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्