इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई महानगरको निम्तो
अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाहुना आउने उनले बताइन्।
काठमाडौं, असोज ८ : काठमाडौं महानगरपालिकाले अन्तरराष्ट्रिय पाहुनालाई इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गरेको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै उपप्रमुख सुनिता डङ्गोलले भोलिदेखि विधिवतरूपमा सुरू हुने इन्दजात्रा अवलोकन गर्नका लागि २० जना विदेशी पाहुना र २२ स्वदेशी पाउहुनाई निमन्त्रणा गरिएको बताइन्।
जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन्। अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाहुना आउने उनले बताइन्।
पाहुनालाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोका केन्द्रीत सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरवार स्क्वायरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकनलगायत कार्यक्रममा सहभागी गराइने उनले जानकारी दिइन्।
महानगरले जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँग सहकार्य गरेको छ । महानगरले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवद्र्धन काम गरिरहेको उपप्रमुख डङ्गोलले जानकारी दिइन्।
उनका अनुसार जात्राअन्तर्गतका वन प्रस्थान, लिङ्गो नगर प्रवेशलगायत कम सम्पन्न भइसकेका छन् भने शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरूको मर्मत संभार, रङ्गरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत गरिएको छ।
जात्रामा राष्ट्र प्रमुखबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको दर्शन गर्ने परम्परा छ । यो चलन मल्ल राजा जयप्रकाशका पालादेखि चलेको विश्वास छ। त्यसबेला राजा आफैँ पनि कुमारीको रथ यात्रामा जाने गरेको बताइन्छ।











