यो सरकार जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो : ओली
'यो सरकारले जनता हाेइन, जता पनि सुन मात्रै हेर्छ । ब्रेक सु ल्याउँछ सुन, सिगरेट ल्याउँछ सुन, स्याउ ल्याउँछ सुन, पानी तान्ने मोटर ल्याउँछ सुन ।'
ओखलढुंगा, असाेज ७ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् ।
ओखलढुंगाको रामपुरमा आज आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले भने, ‘अहिलेको सरकार बसिरहन हुन्छ? तपाईंहरू भन्नुस् त, यस्तो सरकार राख्न हुन्छ?,’ ओलीले भने, ‘तपाईं-हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो।’
उनले अगाडि भने, 'यति नालायक सरकार पनि राख्ने हो? यसलाई जसरी भए पनि टिपेर मिल्काइहाल्नुपर्छ,' ओलीले भने, 'यो सरकारले जनता हाेइन, जता पनि सुन मात्रै हेर्छ । ब्रेक सु ल्याउँछ सुन, सिगरेट ल्याउँछ सुन, स्याउ ल्याउँछ सुन, पानी तान्ने मोटर ल्याउँछ सुन।'
उनले थपे, ‘बुढाबुढीले आशीर्वाद दिनुहुन्थ्यो- माटो छुँदा अन्नै होस्। ढुंगा छुँदा द्रव्य होस् भनेर अहिले त जे छोयो त्यही सुन, माओवादी नेतृत्वको सरकार । क्रान्तिकारी र परिवर्तनकारी सरकार। कस्तो, भ्रष्टाचारी र तस्करी।’ उनले सरकारलाई सुन तस्करी देख्यौ भनी प्रश्न गर्दा अर्कोतिर फर्किएर देखिनँ भन्ने गरेको बताए।
अहिले कांग्रेस पार्टी विचरा अवस्थामा पुगेको पनि बताए। 'कांग्रेस त के पार्टी छ भन्नु ?' ओलीले भने, 'लुरुलुरु प्रचण्डको पछिपछि हिँड्नै भ्याइराको छैन।' सरकार गठन भएको नौ महिना बित्दासमेत एउटै कानुन बन्न नसकेको र सदन चलाउन नसकेको उनले बताए। प्रधानमन्त्री विदेश भ्रमणमा हुँदा किन सदन नचलाएको भन्दै उनले प्रश्नसमेत गरे।











