आयरल्यान्डबाट फर्किए सभामुख घिमिरे
भ्रमणका क्रममा सभामुख घिमिरेले आयरल्यान्डका राष्ट्रपति, माथिल्लो सदनका अध्यक्ष, तल्लो सदनका सभामुख, शिक्षा मामिला हेर्ने राज्यमन्त्रीलगायतसँग भेटवार्ता गरेका थिए।
काठमाडौं, असोज ७ : सभामुख देवराज घिमिरे आयरल्यान्डको भ्रमण गरेर स्वदेश फर्किएका छन्। भदौ ३१ गते आयरल्यान्ड प्रस्थान गरेको सभामुख घिमिरेसहितको टोली आज बिहान स्वदेश फर्किएको हो।
भ्रमणका क्रममा सभामुख घिमिरेले आयरल्यान्डका राष्ट्रपति, माथिल्लो सदनका अध्यक्ष, तल्लो सदनका सभामुख, शिक्षा मामिला हेर्ने राज्यमन्त्रीलगायतसँग भेटवार्ता गरेका थिए।
भेटका विषयमा विमानस्थालमा जानकारी दिँदै सभामुख घिमिरेले आफूले नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सर लगायतका रोगको उपचार तथा नेपालका हिमाल आरोहण लगायतका विषयमा छलफल गरेको बताए।
नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने, आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रबन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तन लगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा पनि छलफल भएको घिमिरेले बताए।











