Kathmandu Press

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

प्रधानमन्त्री प्रचण्डलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने र विमानस्थलबाट उनी बेइजिङको स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

काठमाडौं, असोज ७ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हाङझाउबाट राजधानी बेइजिङ जाँदै छन् । उनी बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्ने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने र विमानस्थलबाट उनी बेइजिङको स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने कार्यक्रम छ ।

आज दिउँसो ४ बजे नेपाल–चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीसहित नेपालबाट गएका उद्योगी व्यवसायीको टोली पनि सहभागी हुनेछ । यो समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् । त्यसपछि प्रचण्ड बेइजिङमा रहेको नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

भोलि प्रधानमन्त्री प्रचण्डको समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता हुनेछ ।

हिजो प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जीनपिङबीच हाङझाउमा भेटवार्ता भएको थियो ।  प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलसँग सामूहिकरूपमा समेत गरी एक घण्टा लामो छलफल भएको थियो ।

नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रचण्डले चिनियाँ पक्षलाई आश्वस्त पारेका थिए। यो भेटवार्तापछि प्रचण्ड एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएका थिए । 

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर न्युयोर्कबाट हिजो बिहान चीन पुगेका थिए । प्रधानमन्त्री प्रचण्डसहितको टोली सेप्टेम्बर ३० तारिख अर्थात् आउँदो शनिवार नेपाल फर्कने कार्यक्रम छ ।  

प्रकाशित मिति: ०८:०८ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्