अब दलीय राजीतिमा लाग्दिनँ, विकास र सुशासनका लागि सक्रिय रहन्छु : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताउँदै विकासका लागि आफू जहाँ पनि बोल्ने र सबैलाई सचेत गराउने बताए।
तनहुँ, असोज ६ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि निरन्तर लागिपर्ने बताएका छन्।
तनहुँको व्यास नगरपालिका–३ बीपी वनवाटिकामा निर्माण गरिएको दमौली सभागृहको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अब दलीय राजनीतिमा नलाग्ने भन्दै विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताए।
राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताउँदै विकासका लागि आफू जहाँ पनि बोल्ने र सबैलाई सचेत गराउने बताए।
‘म दलीय राजनीतिमा हात हाल्दिनँ तर विकासबाट हात झिक्दिनँ,’ उनले भने, ‘मुलुकलाई विकास चाहिएको छ, जो प्रधानमन्त्री आए पनि म विकासका मुद्दा बारे सचेत गराउँछु।’
संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गरेका छन् । उनले भने, ‘परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो। संविधानको रक्षक भएका नाताले मेरो कदम त्यसतर्फ हुनेछ।’
राष्ट्रपति पौडेलले् सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरे। उनले व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै पदमा पुग्नेहरूले देशको हितमा काम गर्नुपर्ने बताए।
राष्ट्रपति पौडेलले निमुखा जनताले न्याय पाउनुपर्ने र विपन्नलाई आय चाहिएको उल्लेख गरे। उनले सबै राजनीतिक दल मिलेर एकाआपसमा सहकार्य गरी काम गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले दलहरू मिले मात्रै मुलुक बलियो बन्ने बताए।











