‘फेरि लड्न परे लडिन्छ, तर अन्याय सहिदैँन’
उनले विद्रोहमा सामेल भएका सामान्य कार्यकर्तादेखि कमान्डरसम्मलाई दोषारोपण गरिए फेरि लड्न तयार रहेको बताए।
काठमाडौं, असाेज ६ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्कालीन विद्रोहमा सामेल भएकाहरुलाई अपराधीकरण गरे फेरि युद्ध लड्ने चेतावनी दिएका छन्।
जनअधिकार अभियान नेपालको आठौं वार्षिक साधारणसभा एवं प्रगतिशील कानुन व्यवसायी एशोसियसन दोस्रो राष्ट्रिय सम्मेलन तथा संयुक्त उद्घाटन समारोहमा उनले परिर्वतनका लागि लड्नेहरुलाई दोषारोपण गरे फेरि लड्न तयार रहेको चेतावनी दिए।
उनले विद्रोहमा सामेल भएका सामान्य कार्यकर्तादेखि कमान्डरसम्मलाई दोषारोपण गरिए फेरि लड्न तयार रहेको बताए। उनले १० वर्षे शसस्त्र आन्दोलनलाई विभिन्न नाम दिने गरिएको भन्दै त्यसलाई उचित मुल्याङ्कन गर्न माग गरे।
‘पहिलो न्याय १० वर्षे जनयुद्धलाई हुनुपर्यो, त्यो क्रान्ति हो कि होईन त्यसको न्वारन हुनु पर्यो । त्यो उग्रवादी समूहले लडेको लडाईं हो की नेपाली जनताले लडेको लडार्इं हो । के हो त्यही लेख्नुपर्छ, जसले गर्दा देश आज यहाँ आईपुगेको छ,’ यनले भने,
महासचिव विल्लवले संसद भ्रष्टाचारीको अखडा बनेको आरोप लगाए। उनले संसदले संधिवानलाई कार्यान्वयन हुने तहमा ल्याउनु पर्ने बताए।
‘संसद गफ गर्ने, जनतालाई ठक्ने, नक्कली कुरा गर्ने, तस्करहरुको अखडा हुनुुभएन, भ्रष्टाचारीहरुको अखडा हुनुभएन,’ उनले भने, ‘तर संसदले संविधानलाई कार्यान्यवन हुने तहमा ल्याउनु पर्छ।’
उनले अहिलेको संविधान संविधान तुलनात्मक रुपमा प्रगतिशील रहेको बताउँदै संविधानको जग १० वर्षे जनयुद्ध नै भएको बताए। उनले भने, ‘यो संविधान १० वर्षको जनयुद्धको बलिदान, त्यागसँग जोडिएको छ, त्यसैले यो संविधान स्वभाविक ढं्गले विगतका संविधानभन्दा प्रगतिशिल र क्रान्तिकारी छ।’
उनले संविधानमा भएको हरेक कानून व्यवहारमा व्यक्त हुनुपर्ने भन्दै यस्तो नभए संविधान कागजको खोस्टोबाहेक केही नरहने बताए ।











