Kathmandu Press

चिनियाँ राष्ट्रपति सीद्वारा आयोजित दिवाभोजमा प्रधानमन्त्री दाहाल सहभागी

१९औं एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचाओ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवाभोज दिएर चीनमा स्वागत गरिएको छ। सोही दिवाभोजमा नेपालबाट शनिबार बिहान चीन पुगेका दाहालसमेत सहभागी भएका हुन्।
चिनियाँ राष्ट्रपति सीद्वारा आयोजित दिवाभोजमा प्रधानमन्त्री दाहाल सहभागी

काठमाडाैं, असाेज ६ : चीन भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको दिवाभोजमा सहभागी भएका छन्। 

१९औं एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचाओ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवाभोज दिएर चीनमा स्वागत गरिएको छ। सोही दिवाभोजमा नेपालबाट शनिबार बिहान चीन पुगेका दाहालसमेत सहभागी भएका हुन्।

विशिष्ट अतिथिहरूमा कम्बोडियाका राजा नारोदोम सिहामोनी, सिरियाली राष्ट्रपति बसर अल असद, उनकी श्रीमती अस्मा, कुवेतका युवराज मिशल अहमद अल जबाएर, अल सवाह, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुसमाउ, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सु, मलेसिया तल्लो सदनका सभामुख जोहरी विन अब्दुल र उनका श्रीमती नोलेनी, ओलम्पिक काउन्सिल अफ एसियाका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंह, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाह, ब्रुनाई सुल्तानका प्रतिनिधि राजकुमार सोफी, जोडर्नका राजकुमार फैजल, थाइल्याण्डका राजकुमारी सिरिवन्नावरी महिदोल लगायतका राजपरिवारको अन्य प्रतिनिधि सहभागी रहेको बेइजिङस्थित चाइना रेडियो इन्टरनेसनलले जनाएको छ।   

सो दिवाभोजमा राष्ट्रपति सीले चीन सरकार र चिनियाँ जनताका तर्फबाट सम्बोधन गरेका छन्। १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन आएका पाहुनालाई स्वागत गर्दै सीले चिनियाँ विशेषता, एसियाली शैलीसहितको खेल प्रतियोगितामा विश्वसामु प्रस्तुत गर्न चाहेको बताए।

 ‘हामी एसिया ओलम्पिक काउन्सिल र विभिन्न देश र क्षेत्रका प्रतिनिधिमण्डलहरूसँग मिलेर चिनियाँ विशेषता एसियाली शैली र भव्यताको सहितको खेल प्रतिगोयतामा विश्वसामु प्रस्तुत गर्न चाहन्छौं,’ उनले भने, ‘प्रतियोगिताले एसियाली तथा ओलम्पिक आन्दोलनको विकासमा नयाँ योगदान दिने अपेक्षा गरेका छौं।’ 

प्रतिगोयतामा एसियामा रहेका ४८ देशमध्ये ४५ देशका खेलाडीहरू सहभागी छन्। नेपालबाट २९ खेलमा २५३ जना खेलाडी एसियाली खेलकुदमा सहभागी भएका छन्। 

प्रकाशित मिति: १५:३७ बजे, शनिबार, असोज ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्