Kathmandu Press

६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरूद्वारा काठमाडौंमा प्रदर्शन

शिक्षक महासंघ र केहि संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसंग सहमति गरेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।
६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरूद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडाैं, असाेज ६ : सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

शिक्षक महासंघ र केहि संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसंग सहमति गरेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।

शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो। तर समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफुहरु आन्दोलनलाई निरन्तरता दिने अवस्थामा पुगेको राहत शिक्षकहरुले बताएका छन्।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाइ नरहेको उनीहको भनाइ छ । सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्दा अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरुलाई स्वीकार्य नभएको आन्दोलनरत राहत शिक्षकहरूले बताएका छन्।

उनीहरुले वार्ताका क्रममा आफूहरुलाई गृहमन्त्रीले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। त्यस्तै राहत शिक्षकहरुले आफ्ना मागहरु पुरा नभएसम्म विद्यालयहरु नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन्।

 

सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए। उनले देशको सामुदायिक विद्यालय चलाउन उबेला राहत शिक्षक नै बन्नुको विकल्प नभएको गुनासो गरे।

‘देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्छु भन्दा राहत शिक्षक नै बन्नुपर्ने थियो अरु विकल्प थिएन। हामी रहरले राहत शिक्षक भएका हौं?’ उनले भने, ‘गुणस्तरीय शिक्षक बन्छौं र सामुदायिक विद्यालय सुधार्छौ भनेर लागेका हौं। स्थायी व्यवस्थापन गर्नु पर्दैन? हिजो भएको सहमतिमा ५० हजार राहतको शिक्षकको असहमति छ।’

उनले आफूहरुको माग सम्बोधन नभएसम्म घर नफर्कने बताए। ‘यो आन्दोलन भोलिदेखि झन् सशक्त बनाउने भनेर सबै जिल्लाका शिक्षक र आन्दोलन घटकका अध्यक्षहरु जुटेर राज्यलाई कसरी झुकाउने भन्ने रणनीति बनाएर मात्र घर फर्किनेछौं, नत्र माइतीघरमै बस्नेछौं।’ 

प्रकाशित मिति: १४:३५ बजे, शनिबार, असोज ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्