चीनमा यसरी बित्नेछ प्रधानमन्त्री दाहालकाे एक साता

काठमाडौं, असार ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तरी छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा आज हाङजाओ पुगेका छन्।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर शनिबार न्यूयोर्कबाट हाङजाओ आइपुगेका उनी अब एक साता चीनमै रहनेछन्। उनी हाङ्जाओ सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ। हाङजाओमै उनले चिनियाँ राष्ट्रपति सी चीन फिङसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
चीनको राजधानी सहर बेइजिङ आएपछि सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नेछन्।सोही अवसरमा उनले चीनको छोङछिङ महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रको अवलोकन गर्नेछन्। त्यहाँ उनले चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा जानकारी लिनेछ्न्।
भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नुका साथै चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्नेछन्। सो सम्मेलनमा नेपाल र चीनका उद्योगी–व्यवसायीहरुको सहभागिता रहनेछ। सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी–व्यवसायीहरु त्यहाँ पुगिसकेका छन् ।
प्रधानमन्त्री दाहालले नेपालसँग सिमाना जोडिएको तिब्बतको पनि भ्रमण गर्नेछन्। तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सेप्टेम्बर ३० अर्थात असोज १३ गते प्रधाननमन्त्री भ्रमण सम्पन्न गरी स्वदेश फर्किनेछन्।











