राजनीतिक परिर्वतन भएपनि आर्थिक रुपान्तरण भएन : अध्यक्ष नेपाल
‘सामाजिक, आर्थिक र सांस्कृतिक यी तीन वटै क्षेत्रको रुपान्तरण विना देशले विकास गर्न सक्दैन। हामीले परिकल्पना गरेको समाज निमार्ण गर्न सक्दैनौं। राजनीतिक परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न बाँकी छ। सोच र आँट हुनुपर्छ, असम्भव केही पनि छैन् तर सोच, संकल्प छैन भने त्यस्तोले केही गर्न सकिँदैन्।’
काठमाडौं, असाेज ६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको दोहोर्याएका छन्। समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा नेपालले समाज, आर्थिक र सांस्कृतिक रुपान्तरणबिना देशले विकास सम्भव नभएको भन्दै यसमा गम्भीर हुन आवश्यक भएको बताए।
उनले भने, ‘सामाजिक, आर्थिक र सांस्कृतिक यी तीन वटै क्षेत्रको रुपान्तरण विना देशले विकास गर्न सक्दैन। हामीले परिकल्पना गरेको समाज निमार्ण गर्न सक्दैनौं। राजनीतिक परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न बाँकी छ। सोच र आँट हुनुपर्छ, असम्भव केही पनि छैन् तर सोच, संकल्प छैन भने त्यस्तोले केही गर्न सकिँदैन्।’
त्यस्तै उनले अझै पनि सामाजिक न्याय र समानताका सवालमा धेरै चुनौति भोग्नु परेको भन्दै त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए। ‘हाम्रो देशमा अझै पनि ठुलो समस्या सामाजिक न्याय, सामाजिक समानताको छ। सामाजिम न्याय र समानता नपाएर सहज रुपमा मानव जीवन जिउन नपाएर अरुबाट पीडा सहन पर्ने अवस्थामा रहनु पर्ने कारणले कसरी मानव जीवनलाई राम्रो बनाउने। ’ उनले भने ‘सुखि नेपालीको कल्पनालाई कसरी सफल पार्ने, न्याय कसरी दिने यो सन्दर्भमा धेरै पक्ष रहेको हुन्छ र त्यसमा सरोकारवाला व्यक्ति र संस्थाको ध्यान जानु आवश्यक हुन्छ।’
उनले जनताको जीवन परिर्वतन नभएसम्म राजनीतिक परिवर्तनको कुनै औचित्य नरहेको तर्क गरे।
‘जनताको जीवनमा परिवर्तन भएन भने, जनताको जीवन सुखि हुन सकेन भने राजनीतिक परिर्वतनको कुनै अर्थ रहदैँन्। त्यसकारणले पनि कसरी जनताको हितमा काम गर्ने, जनतालाई कसरी यो देशको मालिक बनाउने त्यसको बारेमा संविधानमा त लेखेका छौँ तर त्यसलाई कार्यान्वयन गर्ने ठूलो चुनौती छ।’ उनले भने।
मौलिक हकमै व्यवस्था गरिएका कतिपय सवाल समेत व्यवहारमा ल्याउन नसकिएको भन्दै उनले विकासको लहर ल्याउन विदेश जाने युवाहरुलाई रोक्न जरुरी रहेको बताए। ‘हामीले शिक्षा, स्वास्थ्य र रोजगारी जनताको मौलिक अधिकार हो भनेका छौ। तर त्यही कुराहर राज्यले उपलब्ध गराउन सकेको छैन्।
रोजगारीको अभावमा युवाहरु विदेश जाने लहरमा छन्। देशमा कसरी विकासको लहर कसरी ल्याउन सकिन्छ त्यो महत्वपूर्ण कुरा हो। विगतमा भएको कमि कमजोरीहरुलाई स्विकार गर्ने हो भने भविष्यमा त्यो गल्ती दोहोरिदैँन्।’











