प्रधानमन्त्री दाहाल आजबाट चीन भ्रमणमा, के-के गर्छन्?
प्रधानमन्त्री दाहालले ह्वाङझाओमै शनिबार दिउँसो साढे १२ बजे राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्। बेलुका साढे ४ बजे त्यहीँको एक होटेलमा राष्ट्रपति सीसँग प्रधानमन्त्री दाहालको भेटवार्ता हुनेछ।
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण आजबाट सुरु भएको छ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका उडेका प्रधानमन्त्री दाहाल आज क्याथे एयरको विमानमा हङकङ उडेका छन् । उनी १५ दिन लामो विदेश बसाइपछि असोज १३ गते मात्र काठमाडौं आइपुग्ने छन्।
हाङचोउमा चिनियाँ मन्त्रीले शनिबार बिहान १० बजे प्रधानमन्त्री दाहालको टोलीलाई स्वागत गर्नेछ । त्यहाँ दाहालको सम्मानमा गार्ड अफ अर्नर दिइने दाहालको सचिवालयको दाबी छ ।
होटलमा केहीबेर आराम गरेपछि प्रधानमन्त्री दाहालले ह्वाङझाओमै शनिबार दिउँसो साढे १२ बजे राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्। बेलुका साढे ४ बजे त्यहीँको एक होटेलमा राष्ट्रपति सीसँग प्रधानमन्त्री दाहालको भेटवार्ता हुनेछ।
सीसँगको भेटपछि साँझ एसियन गेमको उदघाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल होटलबाट प्रस्थान गर्नेछन्। यसक्रममा उनले बाटोमा पर्ने अलिबाबा ग्रुपको हेडक्वार्टरको अवलोकन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री दाहाल राति ८ देखि १० बजेसम्म एसियन खेल उद्घाटन समारोहमा रहनेछन् र होटलमा फर्कने कार्यसूची छ।
हाङचोउबाट काठमाडौं नफर्किई बेइजिङ जाने छन्। बेइजिङमा उनलाई नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ मन्त्रीले स्वागत गर्नेछन्।
आइतबार दिउँसो ४ बजे नेपाली दूताबास र नेपाल चाइना ट्रेड एण्ड इन्भेस्टमेन्ट फोरमले आयोजना गर्ने बिजनेश फोरमलाई प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रम छ। साँझ साढे ६ बजे उनी नेपाली दूतावासले आयोजना गर्ने रात्रीभोजमा सरिक हुने कार्यसूची छ।
सेप्टेम्बर २५ अर्थात असोज असोज ८ गते बिहान पौने १० बजेदेखि सवा १० बजेसम्म चिनियाँ नेशनल पिपुल्स कांग्रेसका अध्यक्ष झाओ लिजीसँग भेटवार्ताको कार्यसूची छ।
त्यसपछि प्रधानमन्त्री तेनमेन स्क्वायरमा वेलकम सेरेमोनीमा सरिक हुनेछन् र चिनियाँ प्रधानमन्त्री ली क्वाङसहितको प्रतिनिधिमण्डलसँग दुईपक्षीय वार्ता हुनेछ। वार्ता सकिएपछि प्रधानमन्त्री लीले नेपाली टोलीको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।
चिनियाँ प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजपछि प्रधानमन्त्री दाहालको टोलीले वर्ल्ड रिसर्च सेन्टरको अवलोकन गर्नेछ।
असोज ९ गते मंगलबार बिहानै प्रधानमन्त्री दाहालले बेइजिङ छाड्ने छन्। उनी त्यहाँबाट चोङचिङ नगर जानेछन्, जहाँ आधुनिक कृषि तथा औद्योगीकरणको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
प्रधानमन्त्री दाहालको टोली मंगलबार साँझ चोङचिङमै रहनेछ। साँझ ६ बजे चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय सेक्रेटरीले नेपाली टोलीको स्वागतमा रात्रीभोजको आयोजना गर्नेछन्।
सेप्टेम्बर २७ अर्थात असोज १० गते प्रधानमन्त्री दाहाल चोङकिङबाट ल्हासा जाने कार्यक्रम छ। ल्हासामा रहँदा प्रधानमन्त्री दाहालले तिब्बतका सरकारी अधिकारीहरुसँग नेपाल तिब्बत सीमा नाकाहरु खोल्ने विषयमा छलफल गर्ने कार्यसूची छ।
प्रधानमन्त्री दाहाल ल्हासाबाट छेन्दु गएर त्यहाँबाट सेप्टेम्बर ३० अर्थात असोज १३ गते काठमाडौं फर्कने छन्।











