सुन तस्करीको जाँचबुझ गर्ने आयोगको कार्यादेशमा एमालेको असहमति, बैठक निष्कर्षविहीन
आजसम्म आयोग बनाउने सहमति भएपनि सरकारले त्यसमा कुनै पनि काम नगरेको भन्दै सचेतक बर्तौलाले सरकार जिम्मवार नभएको आरोप लगाए।
काठमाडौं, असोज ५ : सुन तस्करीबारे छानविन गर्न गठन गर्ने भनिएको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशमा एमालेले अमहमति जनाएको छ।
कार्यदेशमा एमालेले असहमति जनाएपछि आयोगको कार्यादेशबारे छलफल गर्न शुक्रबार बसेको बैठक निष्कर्षविहीन भएको छ।
६ भदौमा राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच ५ असोजबाट काम सुरु गर्ने गरी आयोग गठन गर्ने सहमति भएपनि आज बसेको बैठकमा सहमति नजुटेका एमाले सचेतक महेश बर्तौलाले बताए। उनले सरकार जिम्मेवार नभएको र वचनको पक्का नभएको बताए।
‘सरकार जिम्मेवार भएको हुन्थ्यो भने यति ठूला नेताहरुको बीचमा, पूर्वप्रधानमन्त्रीको तहमा भएको सहमतिमा पनि यस प्रकारको कामले के देखाउँछ भने सरकार कतिको जिम्मेवार छ, वचनमा पक्क छ भन्ने यो घटनाले देखाउँछ,’ सचेक बर्तौलाले भने, ‘सरकार जिम्मेवारी बोधका साथ अगाडि बढ्न र भएका सहमतिलाई कार्यान्वयन गर्न जिम्मेवार छैन, तयार छैन।’
उनले आजको घटनाले सरकार समस्या टार्न सम्झौता गर्ने र सम्झौताबाट पछि हट्ने चरित्र देखिएको बताए।
आजसम्म आयोग बनाउने सहमति भएपनि सरकारले त्यसमा कुनै पनि काम नगरेको भन्दै सचेतक बर्तौलाले सरकार जिम्मवार नभएको आरोप लगाए। बैठकपछि एमाले सचेतक बर्तौलाले सरकार पूर्वसहमतिबाट पछि हट्न खोजेको आरोप लगाए।











