शिक्षा विधेयकलाई सर्वस्वीकार्य बनाउने कांग्रेसको प्रतिबद्धता
कांग्रेसले संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने बताएको छ।
काठमाडौं, असोज ५ : नेपाली कांग्रेसले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सर्वस्वीकार्य बनाउने प्रतिबद्धता जनाएको छ। सरकार र शिक्षकहरुबीच सहमति भएपछि कांग्रेसले सहमतिबमोजिम विधेयकलाई सर्वस्वीकार्य बनाउन पहल गर्ने प्रतिबद्धता जनाएको हो।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा शिक्षकहरुका जायज मागलाई सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको थियो।
‘सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकलाई लिएर मुलुकभरका शिक्षकहरु आन्दोलनमा उत्रिएको वर्तमान अवस्थामा सबै किसिमका जायज माग र भावनालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान निकाल्न सकिन्छ भन्ने दृढ विश्वासका साथ सरकार र आन्दोलनरत पक्षबीच भएको वार्ता र सहमतिलाई नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ,’ कांग्रेसले भनेको छ।
कांग्रेसले विधेयकमाथि छलफल, संशोधन र पारित गर्न अझै बाँकी रहेको भन्दै त्यसक्रममा विधेयकलाई सर्वस्वीकार्य बनाउन पहल गर्ने भनेको छ। ‘विद्यालय शिक्षाको विद्यमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीको वर्षौं देखिका समस्याहरु समाधान गर्न समयानुकूलको ऐन बहुप्रतिक्षित थियो,’ कांग्रेसले विज्ञप्ति जराी गर्दै भनेको छ, ‘अघिल्लो ऐन र कानुनी व्यवस्थाहरुका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्वपूर्ण विषयहरु समेट्नु एकातर्फ सुखद् छ भने अर्कातर्फ कतिपय सन्दर्भमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतको संविधानको मर्मलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको छैन।’
कांग्रेसले संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने बताएको छ।











