प्रस्तावित शिक्षा विधेयकले शिक्षाको व्यापारलाई संस्थागत गरेको छ : धमेन्द्र बास्तोला
‘नेपालमा शिक्षा र स्वास्थ्य जस्तो मानिसको मौलिक अधिकारमाथि व्यापारिकरण गर्ने अपराध राज्यले गरेको छ। त्यसको अन्त्य गर्नुपर्छ। यो शिक्षा विधेयकले शिक्षालाई घुमाउरो तरिकाले व्यापारिकरणलाई संस्थागत गरेको छ,’ उनले भने।
काठमाडौं, असाेज ५ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले प्रस्तावित शिक्षा विधेयकले शिक्षाको व्यापारिकरणलाई संस्थागत गरेको आरोप लगाएका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रस्तावित शिक्षा विधेयकले, शिक्षालाई व्यापारिकरण गरेको आरोप लगाएका हुन्। ‘नेपालमा शिक्षा र स्वास्थ्य जस्तो मानिसको मौलिक अधिकारमाथि व्यापारिकरण गर्ने अपराध राज्यले गरेको छ। त्यसको अन्त्य गर्नुपर्छ। यो शिक्षा विधेयकले शिक्षालाई घुमाउरो तरिकाले व्यापारिकरणलाई संस्थागत गरेको छ,’ उनले भने।
सरकारले शिक्षामा परिर्वतन ल्याउन खोजे जस्तो गरेर जनतामा भ्रम मात्रै छरेको टिप्पणी गरे। ‘शिक्षा प्रणाली परिवर्तन गनुपर्ने लामो समयदेखिको मागलाई सरकारले शिक्षा विधेक ल्याएर शिक्षा प्रणालीमा परिर्वतन दिन खोजेको एउटा भ्रम दिन खोजेको छ। तर जुन विधेयक छ त्यो भित्र कुनै पनि परिवर्तन छैन्। सामान्य परिवर्तन होला तर आधारभूत रुपमा परिवर्तन छैन् तर भ्रम दिने कोशिस भने भएको छ। ’
सरकारले षड्यन्त्रपूर्ण तरिकाले शिक्षकहरुको माग पूरा नगरी गुमराहमा पार्न खोजेको आरोप लगाए। उनले भने ‘फेरि शिक्षकहरुमाथि जुन प्रकारको प्रताडना हिजो चल्दै आएको थियो त्यसलाई निरन्तरता दिने र शिक्षामाथि जुन प्रकारको लुट, व्यापारिकरण, माफियाकरण चल्दै आएको छ, त्यसलाई निरन्तरता दिने शैलीमा कामहरु गर्दै आईरहेको छ।’











