स्थायित्व र सुशासन कायम गर्नसके सबैका समस्या समाधान : राष्ट्रपति

काठमाडौं, असोज ५ : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्नसके सबैका समस्या समाधान हुने बताएका छन्।
राष्ट्रपति पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग, लिङ्गका समस्या समाधानतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने भनाई समेत राखे। राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन बुझ्दै पौडेलले उक्त भनाई राखेका हुन्।
पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगती हटाउन सहज हुने धारणा राष्ट्रपतिको छ। यस्तै, राष्ट्रपति पौडेलले नेपालको संविधान अनुसार गठन भएका सबै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको पनि बताए।
दलित अयोगका अध्यक्ष देवराज विश्वकर्माले पशे गरेको आयोगको वार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसुची रहेका छन्। दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सुचीकरण गरेको पनि जानकारी पनि दिए।
नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश गरेको हो।











