अब गैरआवासीय नेपालीलाई नागरिकता लिन खुला

काठमाडौं, असोज ५ : नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि गैरआवासीय नेपाली (एनआरएन) ले गैरआवासीय नेपाली नागरिकता पाउने बाटो खुलेको छ।
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० बुधबार राजपत्रमा सूचना प्रकाशित भइसकेको छ। राजपत्रमा नियमावलीको सूचना प्रकाशित भएपछि अब गैरआवासीय नेपाली (एनआरएन) हरुले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन्। उनीहरुले विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्ने व्यवस्था नियमावलीमा छ।
नियमावली अनुसार गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये १ जनाको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेस गर्नुपर्ने भनिएको छ।
त्यसपछि गैरआवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्ने नियमावलीमा उल्लेख छ। यसरी निवेदन परेपछि प्रमुख जिल्ला अधिकारीसमक्ष ती गैरआवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्ने भनिएको छ।
गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता नियमावली तेस्रो संशोधन पारित गरेको थियो।











