शिक्षा विधेयकबारे छलफल गर्न असोज ८ र ९ गते कांग्रेस संसदीय दलकाे बैठक बस्ने
आज बसेको केन्द्रीय समिति बैठकमा प्रमुख सचेतक रमेश लेखकले उक्त जानकारी दिएका हुन्।
काठमाडाैं, असाेज ५ : प्रतिनिधिसभामा दर्ता भएको शिक्षा विधेयकलगायत विषयबारे छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। यही असोज ८ र ९ गतेका लागि बैठक बोलाइएको हो।
आज बसेको केन्द्रीय समिति बैठकमा प्रमुख सचेतक रमेश लेखकले उक्त जानकारी दिएका हुन्। बैठकमा मुख्यतः प्रतिनिधिसभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल हुने उनले बताए। त्यसबाहेक संसदसँग सम्बन्धित अन्य समसामयिक विषय बैठकका एजेन्डा रहेकाे उनकाे भनाइ छ।
प्रमुख सचेतक लेखकले शिक्षकहरूको जायज माग पूरा हुनुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताए। केन्द्रीय समिति बैठकमा शिक्षकहरूको आन्दोलनको विषय जोडतोडले उठेको उनले जानकारी दिए।
कांग्रेसले संसदमा दर्ता भएका विधेयकहरु उपर निरन्तर छलफल गर्दै आएको छ। असोज ८ र ९ गते विद्यालय शिक्षा विधेयकमा छलफल गर्न कांग्रेसले सांसदहरुलाई संसद भवन नयाँ वानेश्वर स्थित लोत्सेहलमा बैठक बोलाएको हाे।
शिक्षा विधेयक २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रस्तावित विधेयकमा असन्तुष्ट शिक्षकहरु आन्दोलनमा छन् ।











