सत्ता केन्द्रित सोच देश विकासका लागि बाधक : अध्यक्ष नेपाल
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा सत्तामा सत्ता केन्द्रित सोचका कारण देश विकास हुन नसकेको तर्क गरे।
काठमाडौं, असाेज ५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेतृत्वको दृढ संकल्पको अभावका कारण देश विकास हुन नसकेको टिप्पणी गरेका छन्।
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा सत्तामा सत्ता केन्द्रित सोचका कारण देश विकास हुन नसकेको तर्क गरे। सत्तामा जाने र आफ्नो लाभको लागि त्यसको प्रयोग गर्ने भावना माथिल्लो तहदेखि तलसम्म नै भएको उनको भनाई छ।
उनले केन्द्रीय, प्रादेशिक, स्थानिय निकाय र विभिन्न संस्थाहरुमा आवद्ध सबै संस्थामा यस्तो प्रवृत्ति बढ्दै गएको भन्दै एउटा राष्ट्रिय र देशभक्तिको दृष्टिकोण, भावना र संकल्पको अभाव देशमा भएको बताए। उनले भने, ‘अहिले हाम्रो यो सबै समस्याको कारण के हो, मेरो विचारमा देश हाक्ने, देश चलाउने संकल्पको अभाव छ। देश बनाउ भन्ने भावना जति मात्रामा हुनुपर्ने थियो त्यसको अभाव छ, कसै गरी सत्तामा पुगौं, सत्तामा आफ्नो पकड बनाउ र आफ्नो लाभको लागि त्यसको प्रयोग गरौं भन्ने भावना व्याप्त छ यसको असर हामी माथि मात्रै होइन, तलसम्म देखिन्छ।’
यस्तै, उनले राजनीतिक पार्टी, नेताहरुले आफूमा रहेका कमि कमजोरीलाई मनन गर्दै समस्या समाधान गर्न गम्भीर हुनु पर्ने पनि बताए। उनले भने, ‘राजनीतिक पार्टी, नेताहरुले आफूमा रहेका कमि कमजोरीलाई मनन गर्नुपर्छ। समस्या समाधान गर्न गम्भीर छौ कि छैन् भनेर आफैसँग प्रश्न गर्नुपर्छ। हाम्रा कमजोरीहरुलाई महशुस गर्नुपर्छ त्यसो गर्दा हामी कमजोर होईन्, सबल हुन्छौ। हामी साच्चि नै गम्भीर भएर लाग्ने हो भने नेपालको समस्याको समाधान निकाल्न सकिन्छ। यो देशमा जुन प्रकारको संकटका बादलहरु छन् त्यसप्रति हामी गम्भीर भएर लाग्नु पर्छ। ’











