‘शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ’
अध्यक्ष ओलीले एक दिन स्कुल नपढाउँदैमा केही नहुने बताउँदै ओलीले शिक्षा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध हुनुपर्ने बताए।
झापा, असोज ४ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले शिक्षकहरूको आन्दोलनको समस्या वार्ताबाट समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
राष्ट्रिय युवा संघ दमक नगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा उनले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन तथा दुवै पक्ष लचक भई वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गरे।
‘गुरुहरूलाई धम्क्याउने होइन, गुरुहरू यत्तिकै देशभरिबाट आएर त्यहाँ सडकमा आन्दोलन गरिरहेका छन्, अविलम्ब वार्ताबाट नै निकास खोजिनुपर्छ, यसलाई लम्ब्याउन हुँदैन,’ ओलीले भने।
अध्यक्ष ओलीले एक दिन स्कुल नपढाउँदैमा केही नहुने बताउँदै ओलीले शिक्षा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध हुनुपर्ने बताए। शिक्षाको विकास भएमात्र देशको मुहार फेरिने भएको चर्चा गर्नुहुँदै उनले अब शैक्षिक विकासबाट नै देशको भविष्य निर्माण गर्न लाग्नुपर्ने बताए।
‘विकास भनेको पैसाले मात्रै हुने होइन, सोच चाहिन्छ, भिजन चाहिन्छ, प्रतिबद्धता चाहिन्छ, सरकारले राम्ररी काम पनि नगर्ने र राज्यलाई गर्न नदिने परिपाटीको विकास भइरहेको छ,’ उनले भने।
ओलीले आफू प्रधानमन्त्री हुँदा नारामात्रै दिएको नभई एउटा निश्चित गन्तव्यमा पुग्ने नीति, कार्यक्रम ल्याएको बताए। उलने एमालेको नेतृत्वमा स्थायी सरकार बनाउने प्रयास भए पनि त्यसलाई विभिन्न तत्वले रोकेको आरोप लगाए।
उनले सांस्कृतिक समृद्धिका हिसाबले नेपाल विश्वमै नमूना रहेको पनि बताउँदै कृषि उद्योग, उत्पादनको विकास, निर्यातजन्य वस्तुको विकास गरिनु आवश्यक रहेको उल्लेख गरे।











